डडेल्धुरा । वर्षेनी बाढीको पीडा भोग्दै आएका डडेल्धुराको भित्री मधेस क्षेत्रका दर्जनौं गाउँ यस वर्ष पनि बाढीको उच्च जोखिममा छन् ।
भित्री मधेसका परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका दर्जनौ गाउँ बाढीको उच्च जोखिममा परेका हुन् । परशुराम नगरपालिका वडा नं. ६ पुरै वडा बाढीको जोखिममा छ ।
परशुराम-६का अकबर भट्टको पाँच वर्ष पहिले आएको महाकाली नदीलेको बाढीले घर खेत बगायो । उहाँ बाँकी रहेेको जमिनका कटेरो बनाएर बसिरहनु भएको छ । तर अहिले पनि आकाशमा बादल लाग्दा बचेकुचेको सबै बगाउने हो की भन्ने चिन्तामा हुनुहुन्छ ।
उहाँमात्रै परशुराम नगरपालिका वडा नं. ६का ७५ परिवारलाई यही चिन्ताले सताईरहन्छ । पुरै वडा बाढी कटानको जोखिममा छ । त्यहाँका स्थानीयहरूले वर्षात् सुरूवातसँगै नदीनालाको त्रासले सताउँछ । महाकाली, रंगुन, पन्तुरा र शीर्ष नदीले वर्षेनी यस क्षेत्रका दर्जन गाउँ कटान गर्ने भएका कारण दैनिक कष्टकर भइरहेको हो ।
डडेल्धुरा जिल्लाकै सबैभन्दा बढी विपद् हुने क्षेत्रमा पर्ने परशुराम नगरपालिका क्षेत्रका एक दर्जन गाउँ महाकाली, रंगुन र शीर्ष नदीको कटान गरे काले जोखिममा परेका हुन् । परशुराम नगरपालिका सरकुणा, सिसमजला, कुणा, कराली, भुरकुण्डा, तातोपानी, चन्दनी, सिमलखेत, कटाल, परिगाउँ र वासगैरा तथा आलिताल गाउँपालिकाका गोदाम, घुमती, स्यालचौडी लगायतका गाउँ नदीले कटान गरिरहेको छ ।
महाकाली नदीमा तटबन्ध नभएकै कारण हरेक वर्षात् सँगै स्थानीयलाई बाढीको त्रासले सताउँछ । वर्षात् भएको दिन मध्यरातमा सुरक्षित स्थान खोज्नु पर्ने बाध्यता छ । ४५ हजार जनसंख्या रहेको यस क्षेत्रमा ३५ प्रतिशत जनसंख्या बाढी पहिरोको उच्च जोखिम भोगिरहेका छन् ।
डडेलधुराकै आधा जनसङ्ख्या रहेको यस क्षेत्रका बासिन्दालाई नदीको जोखिमका कारण नै वर्षेनी सुरक्षित स्थानमा बसाइसराइ गर्नुपर्ने बाध्यता आइपरेको छ । डडेल्धुरामा परशुराम र आलिताल बाढीको सबैभन्दा बढी जोखिम स्थानीय तहको रूपमा रहेका छन् । वर्षैपिच्छे गाउँहरू बगरमा परिणत हुदाँ पनि नदी नियन्त्रण नभएको बाढीपिडितको आरोप छ ।