५० वर्षअघि किनेको जग्गा जालसाजी गरेर पुरानै जग्गाधनीको नाममा फर्काउने प्रपञ्च, चलखेलमा जनप्रतिनिधिदेखि कर्मचारीसम्म

धनुषाको चिरैयाका २० परिवारको बिचल्ली
असार १०, २०८२ |अनिल मिश्र
५० वर्षअघि किनेको जग्गा जालसाजी गरेर पुरानै जग्गाधनीको नाममा फर्काउने प्रपञ्च, चलखेलमा जनप्रतिनिधिदेखि कर्मचारीसम्म

जनकपुर । पाँच दशकअघि किनेर घर बनाई बसोबास गर्दै आएको जग्गा तत्कालीन जग्गाधनीका छोराले सुटुक्क आफ्नो नाममा पास गराएपछि धनुषाको धनुषाधाम नगरपालिकाका-४, चिरैयाका २० घरपरिवारको बिचल्ली भएको छ । 

अचम्म त के भने जग्गाको बाटो नियमविपरित वडा अध्यक्षले सिफारिस गरेका छन् भने स्थानीयले पैसा तिरेर उपभोग गरिरहेको जग्गा पुरानै जग्गाधनीका छोराका नाममा पुन: रजिस्ट्रेसन पास गराउन मालपोतका कर्मचारी र जनप्रतिनिधिको मिलोमतो रहेको पाइएको छ ।

धनुषाको धनुषाधाम नगरपालिका-४ स्थित सय वर्ष अघिदेखि आवादी भएको यो चिरैया गाउँ हो । जहाँ एक सय घरधुरी छन् । ५० वर्ष अघि बाबु केशी अधिकारीले बेचेको तर जग्गा किन्नेहरूका नाममा रजिस्ट्रेसन पास नभएको जग्गामा २० घरधुरी बसोबास गर्दै आएका छन् । 

केशी अधिकारीको मृत्यु भइसकेको र पटक-पटक ताकेता गरेपनि अधिकारीका छोराहरूले कुनै सुनवाई नगरेपछि यो जग्गामा घरबास बनाई बसिरहेकाहरू तनावमा छन् ।

मलपोतको मोठ श्रेस्ताअनुसार अदालतको फैसला बमोजिम यो जग्गा केशी अधिकारीका छोरा भरतकुमार यादव लगायत ३ जनाको नाममा २०८० असोज ४ गते कायम भएको देखिन्छ । 

धनुषाको साविक तेजनगर गाविस-८, मा कित्ता नम्बर ३०७ -कको १ बिघा ५ धुर, यो जग्गा हाल धनुषाधाम नगरपालिका-४ मा पर्छ । तर, वडा नम्बर ७ का अध्यक्ष हेमनारायण यादवको २०८१ फागुन १८ गते चलानी नम्बर ७ सय ४४ को सिफारिस बमोजिम २०८१ फागुन २२ गते कित्ताकाट गरी लेनदेनको आधारमा १ बिघा ५ धुर मध्ये ४ कठा १६ धुर भन्दा बढि जग्गा ६ जनाको नाममा रजिस्ट्रेसन पास भएको भेटिएको छ ।

मालपोतका कर्मचारीहरूले घुस लिएर जग्गा नामसारी गरिदिएको आरोप छ । अधिकार क्षेत्र बाहिर गएर ७ नम्वर वडाका अध्यक्ष यादवको सिफारिस अनुसार पास भएको जग्गाको छानबिनका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत चासो देखाएको छ ।

केसी अधिकारी साग खरिद गरेको जग्गा आफ्नो नाममा रजिस्ट्रेसन गराइदिन लामो समयदेखि घरबास बनाई बसोबास गरिरहेका घरपरिवारले धनुषाधाम नगरपालिका र अधिकारीका छोराहरूको बसोबास रहेको विदेह नगरपालिकामा गुहारेका छन् । यस विषयमा दुई पक्षबीच छलफल भएपनि अझै टुंगो लाग्न सकेको छैन् ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।