काठमाडौं । इरानले आफ्ना तीन आणविक केन्द्रमा गरेको हवाइ आक्रमणको प्रतिक्रियास्वरूप कतार र इराकका अमेरिकी सैन्य अड्डाहरुमा क्षेप्यास्त्र आक्रमण गरेको छ ।
कतारको अल उदीद र इराकको राजधानी बगदादस्थित अमेरिकी बेसमा इरानले आक्रमण गरेको हो । कतारले सबै क्षेप्यास्त्रलाई हावामै नष्ट गरिएको बताउँदै यस आक्रमणलाई सार्वभौमिकता, हवाइ क्षेत्र र संयुक्त राष्ट्र संघको सन्धिको खुला उल्लंघन भन्दै कडा शब्दमा भर्त्सना गरेको छ ।
इरानको आक्रमणपछि अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले भने इजरायल र इरानबीच युद्धविराम हुने दाबी गर्नुभएको छ । सामाजिक सञ्जालमा ट्रम्पले यो इजरायल र इरानबीच एक पूर्ण युद्धविराम १२ घण्टामा हुने भनेर लेख्नुभएको छ ।
घोषणा गर्दैगर्दा आफूलाई खुसी महशुस भएकोसमेत ट्रम्पले उल्लेख गर्नुभएको छ । अबको ६ घण्टापछि युद्धविराम लागू हुनेछ । पहिलो १२ घण्टाका लागि इरान तयार हुनेछ र अर्को १२ घण्टामा इजरायलले हतियार बिसाउने ट्रम्पको दाबी छ ।
ट्रम्पले दुवै देशका नेताहरुलाई धन्यवाद दिँदै १२ दिनदेखि चलिरहेको युद्ध समाप्त पार्नका लागि सहयोग गरेको उल्लेख गर्नुभएको छ । साथै यो युद्ध कैयौं वर्षसम्म चल्न सक्ने भन्दै पहिले कहिल्यै नदेखिएको मृत्यु र ध्वंस हुनेसक्ने पनि उल्लेख गर्नुभएको छ ।
रोयटर्सका अनुसार कतारका प्रधानमन्त्री शेख मोहम्मद बीन अब्दुलरहमान अल थानीले इरानलाई अमेरिकाको युद्धविरामको प्रस्ताव स्वीकार गर्नका लागि मनाएको हो ।
यो कुराकानी इरानी अधिकारीहरूसँग टेलिफोनमा भएको थियो । ट्रम्पले इजरायल पनि युद्धविरामका लागि तयार रहेको र यसका लागि कतारसँग इरानलाई मनाउन सहयोग मागेको बताउनुभएको छ ।