काठमाडौं । इन्टरनेटको र प्रविधिको बढ्दो प्रयोग नियन्त्रण बाहिर हुँदै जाँदा अहिले गलत र भ्रामक सूचनाको बाढी नै आउन थालेको छ । कुनै पनि व्यक्तिका बारेमा आधारहीन र भ्रामक कुराहरु सामाजिक सञ्जालमा राखिदिने क्रम पनि बढ्दै गएको छ । थाहा पाएर वा नपाएर अथवा मनोरञ्जनका लागि होस वा गलत मनसायले, जुनसुकै कारण भए पनि इन्टरनेटको दुरुपयोग गरी डिजिटल सामाग्री तयार पारेर गलत र भ्रामक सूचना राख्नु साइबर अपराध हो ।
सामाजिक सद्भाव बिग्रने गरी अराजक अभिव्यक्ति दिने, नक्कली कागजात बनाएर व्यक्तिको मानमर्दन गर्ने र चरित्रमाथि नै धब्बा लगाउने जस्ता गतिविधि रोक्न नसके यो सामाजिक अपराधले नेपाली समाजलाई नै नकारात्मक असर पार्नेछ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । सामाजिक सञ्जाल प्रयोग गरेर वा व्यक्ति वा समूह भेला पारेर अराजक गतिविधि गर्ने तथा गर्न उक्साउने उनको गतिविधिमा समयमै रोक नलगाउँदा उनले पटक-पटक यस्ता गतिविधी गर्न थालेका हुन् । त्यसो त राजनीतिक नेतृत्वकै कमजोरीका कारण पनि समाजमा यस्ता गतिविधिले प्रश्रय पाउँदै आएका छन् ।
पटक-पटक साइबर अपराध र उदण्ड गतिविधि गर्दै आएका र आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने दुर्गा प्रसाईंलाई पनि विगतमा राजनीतिक संरक्षण प्राप्त भएकै हो । उनी अहिले पनि अदालतको धरौटी तारेखमा छन् । मुद्दा विचाराधीन हुँदा-हुँदै सोही प्रकृतिको नयाँ अपराधमा उनी पक्राउ परेका छन् । प्रसाईंले २०८० सालको चैतमा पनि बैंकको ऋण तथा ब्याज तिर्नु नपर्ने भन्दै कालोमोसो अभियान चलाएका थिए । तर सरकारले त्यसबेला उनलाई पक्राउ गरी कारबाही गरेको थिएन ।
साम्प्रदायिक भड्काउ र हुलहुज्जतको शैलीमा देखा परिरहेका दुर्गा प्रसाईंलाई कानुन बमोजिम कारबाही गर्न ढिला भइरहेको भन्दै सरकारको आलोचना भइरहेका बेला उनी अहिले फेरि पक्राउ परेका हुन् । राजनीतिक नेतृत्व हुन् वा कुनै पनि व्यक्ति उनीहरुसँग चित्त नबुझ्ने बित्तिकै वैधानिकरुपमा गलत मानिने खालका अभिव्यक्ति सामाजिक सञ्जालमा राख्ने, अराजक भिड वा समूह तयार पारेर त्यस्ता अभिव्यक्ति भाइरल बनाउने वा तथाकथित अभियन्ता बनेर कानुन नै हातमा लिएर कारबाही गर्दै हिड्ने खालका गतिविधि हिजो आज सामान्य बनेका छन् ।
पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरेर व्यक्तिको चरित्र हत्या गर्ने क्रम पनि बढेको छ । प्रविधिको दुरुपयोग गर्दै नक्कली कागजात बनाउने र आम नागरिकदेखि शीर्ष नेताहरुलाई नै प्रताडित बनाउने गरिएको हो । यसले एक त व्यक्तिको सामाजिक प्रतिष्ठामा आँच पुर्याइरहेको छ भने अर्कोतर्फ समाजलाई नै नकारात्मक असर पारिरहेको छ । हाम्रो कानुनले बोलेर, लेखेर वा इसाराले कुनै पनि व्यक्तिलाई गालीगलौज अपमान गर्ने वा समाजिक विकृति फैलाउन नहुने व्यवस्था गरेको छ । तर यही काम सामाजिक सञ्जालमा पहिचान खुलेका वा नखुलेका अकाउन्ट मार्फत भइरहेका छन् ।
सामाजिक सञ्जाललाई अभिव्यक्ति स्वतन्त्रतासँग जोडने हो भने त्यहाँ पनि कानुनले निषेध गरेका काम भने गर्न पाइँदैन । अहिले साइबर अपराधसम्बन्धी विशेष कानुन नबनेको अवस्थामा सामान्य कानुन यहाँ पनि आकर्षित हुन्छ । कीर्ते, नक्कली कागजात र आपराधिक गतिविधि गर्न नपाइने र कसैले गरेको पुष्टि भए सजाय हुने व्यवस्था हुँदाहुँदै पनि नेपाली समाजमा यस्ता गतिविधि बढेका छन् । यसको मुख्य कारण सामाजिक सञ्जालमा जे गरे पनि छुट हुन्छ भन्ने मान्यता र सामाजिक सञ्जाल नियमन गर्दा अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्न खोजियो भन्ने गलत तर्क हो ।
सामाजिक सञ्जालको भिडतन्त्रबाट तर्सिएर वा राजनीतिक संरक्षण दिएर कारबाही नगर्दा यस्ता गतिविधि बढ्दै जाने भएकाले समयमै साइबर अपराधसम्बन्धी स्पष्ट कानुन निर्माण गर्ने र संविधानको मौलिक हकसँग नबाझिने गरी तथा कसैसँग व्यक्तिगत रिसिबी नसाँध्ने गरी सामाजिक सञ्जाल नियमनतर्फ कदम चाल्नुपर्ने हुन्छ ।
सम्बन्धित समाचार...
मेडिकल व्यवसायी प्रसाईं साइबर अपराध गरेको आरोपमा पक्राउ
सामाजिक सञ्जालबाट भ्रम र अराजकता फैल्याउने दुर्गा प्रसाईंमाथि कसरी अगाडि बढ्ला अनुसन्धान ?