लीला अनमोल मेरो समयकी कवि हुन् । 'अन्तिम कुमारी रात' उनको नवीनतम कविता कृति हो । ६४ वटा कविताहरुले यो कृति भरिएको छ । जीवन संघर्षले सुल्झिएकी लीला प्रेम र सम्बन्धबारे प्रष्ट छिन् । देश र जनताका खातिर भएका र हुन् लागेका अनेकन तिकडमबाजी प्रति क्रोधित छिन् ।
लोकतन्त्र र संघीयताको ललिपपमा डुबेका नागरिकका सपना र फरक विचार बोकैकै कारण आफ्नै देशभित्र निरीह बाँचिरहेका नागरिकप्रति लीला संवेदित छिन् ।
हो, 'अन्तिम कुमारी रात' प्रेम, राजनीति र देशमाथि लेखिएका जबरजस्त कविताहरुको संग्रह हो । यसभित्र रहेका अधिकांश राजनीतिक कविताले विसंगत वर्तमानको फराकिलो क्यानभास बनाएको छ । र यहीभित्र रहेका केही प्रेम कविताले त्यही क्यानभासमा प्रेमको जबरजस्त दस्तखत गरेको छ । जसका कारण यो पठनीय कविता संग्रह बनेको छ ।
मैले सुरुमै भने लीला मेरो समयकी कवि हुन् । उनले र मैले बाँचेको समय एउटै छ । नेपाली कवितामा संघर्ष गरिरहँदा उनी र म सँगै थियौं । त्यही भएर हामीले हेर्ने, सोच्ने र बुझ्ने तरिका मिल्छ । त्यही भएर पनि लीलाको यो किताब पढिरहँदा म आफ्नै समयको कविता पढेको आभासले दङ्ग परेँ ।
मलाई लीलाका शब्दहरुले मोहित बनायो । उनको कविता लेख्ने तौरतरिकाले म उत्साहित बनें । एउटै समय कविता लेखिरहँदा पनि हाम्रा कवितामा कति धेरै भिन्नता ? त्यसो त पचासको दशकको नेपाली कविताको शौन्दर्य के हो भने विविध अनुहारमा कविहरुले एउटै समयको तस्विर खिचिरहे । र हरेक तस्विर भिन्न-भिन्न दस्तावेज सावित भए ।
आखिर मान्छे रहेछ
कसैले भरेको प्लाष्टिकको बेलुन
जो हावा सकिएपछि खुम्चिएर बिस्तारै
समाप्त भएर जान्छ, जीवनको अस्तित्व ।
(म मरेको दिन)
यो कितावभित्र रहेका 'यो विवाद किन प्रिय लाग्छ ?', प्रेम, कैदी समय, म मरेको दिन, यो कस्तो रंगमञ्च हो ?, झरी, र म पागल भएकी हुँ, खबरदारी, रहर, तिमी नभएको भए, कर्फ्यू, वनवास, भेन्टिलेटरमा किशोरी रहर, मलाई जन्मकैद हुनसक्छ, अमृता विश्वकर्मा उत्कृष्ट कविता हुन् ।
यी कविताले नेपाली कविताको अहिलेको अनुहारलाई उज्यालो पारेको छ । यी कविताहरु नेपालका प्रतिनिधि कविता हुन् । आजका कविता हुन् । हाम्रो समयका कविता हुन् । हामीले बाँचिरहेको विसंगत समयका कविता हुन् । एकचोटी फेरि भनौं, लीला अनमोलको यी कविता विसंगत वर्तमानमाथि प्रेमको जबरजस्त दस्तखत हुन् ।
लीलाले लकडाउनको बेला लेखेको एउटा कविता छ 'कैदी समय' ।
...र यो कैदी समय
म तिम्रो प्रेमको तुफानी हावा फेरर बाँचेकी छु ।
लीला कविता अगाडी बढाउँछिन् । सडक सुनसान भएर के भो ? मभित्र तिम्रो प्रेमको सहर छ । यो कविता पढेर म रन्थनिन्छु । र थप तरंगित हुन्छु 'झरी' कविताले । एउटा कवितामा उनी लेख्छिन् –
नपाउनु पाएपछि तिम्रो मायाको प्रसिद्धि
एउटा छुट्टै आनन्दीको लहर बहिरहेछ मभित्र
चर्चैचर्चाको दहबाट
तिम्रो प्रेमको गुभो पलाएर
मेरो संसार हरियो भएको छ ।
(यो विवाद किन प्रिय लाग्छ ?)
मैले लेखेको भए यो कविताको शीर्षक 'प्रेमको प्रसिद्धि' राख्थे । त्यसो त प्रेमसँग जोडिएका यहाँ धेरै कविताहरु छन् । सबै एकसे एक ।
सांग्रिला बुक्सले छापेको यस कविता संग्रहमा कमजोरी के छन् ? म निकै चनाखो र सचेत बनें । केही कविता दोहोर्याएर पढें । र मलाई लाग्यो, कुनै-कुनै कविता विवरणात्मक छन् । त्यसलाई सम्पादन गर्न सकिन्थ्यो । कुनै कुनै कविता लीलाले वैचारिकतालाई मिक्समाक्स गरेकी छिन् । त्यसो नगरेको भए अझ सुन्दर हुन्थ्यो होला ।
'अन्तिम कुमारी रात' पढेपछि मलाई लागेको के हो भने, लीला प्रेमकी कवि हुन् । उनी जीवनलाई प्रेमिल बनाउन उद्धत छिन् ।