काठमाडौं । सामाजिक सञ्जाल सूचनाका लागि जति सहज माध्यम बनिरहेको छ, त्यसको दुरुपयोगले सामाजिक सदभावमा उतिकै जोखिम निम्त्याइरहेको छ । नेपालमा केही त्यस्ता पात्रहरु चुनौती बनिरहेका छन् जो भ्रम र अराजकता निम्त्याउने प्रयासमा संलग्न छन । त्यसैको एउटा पात्र हुन् मेडिकल व्यवसायी दुर्गा प्रसाईं । कुनै समयमा ठूला राजनीतिक दलका नेताहरुलाई नै प्रभाव पारेर बस्ने दुर्गा अहिले सामाजिक सञ्जालबाट भ्रम र अराजकता फैलाउने आरोपीका रुपमा पक्राउ परेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा ३२ अर्ब लगानी रहेको भन्दै एउटा अपुष्ट भिडियो सार्वजनिक गरे लगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले मंगलबार बिहानै दुर्गा प्रसाईंविरुद्ध अदालतबाट पक्राउ अनुमति लिइसकेको थियो । दिउँसो दुर्गा घरमै भएको सूचना पाएपछि सीआईबीको टोली उनलाई पक्राउ गर्न भक्तपुरको निकोसेरा पुग्यो । दुर्गा त्योबेला २० जना समर्थनलाई लिएर भित्रबाट गेट लगाएर घरमै थिए ।
सीआईबीको टोली गेटभित्र गएर पक्राउ गर्न खोज्दा उनी भागेर किचेनमा लुकेको प्रहरी स्रोतको दाबी छ । तर सीआईबीले भेटेलगत्तै उनी गिरफ्तारी दिन तयार भए । दुर्गासँगै उनका १० जना समर्थक पनि आजै पक्राउ परेका छन् । प्रसाईंलाई प्रहरीले साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरेको हो । यसपटक प्रसाईंले प्रधानमन्त्रीको नाम जोडेर भ्रामक र तथ्यहीन सामग्री प्रचार गरेको आरोप छ । प्रधानमन्त्री केपी ओलीको नाममा नागरिकतादेखि विदेशमा ओलीले लगानी गरेका भनी नक्कली कागजात बनाएको आरोपमा उनीमाथि अनुसन्धान हुनेछ ।
प्रधानमन्त्रीमाथि दुर्गाले लगाएको आरोपको आधिकारिताबारे त खोजी हुन्छ नै, तर सामाजिक सञ्जालमार्फत् उनले मच्चाएको अराजकतामा साइबर अपराधको कसुरमा मात्र सिमित हुने भने देखिँदैन । उनले प्रयोग गर्दै आएका ल्यापटप र १० थान मोबाइल समेत नियन्त्रणमा लिएको प्रहरीले यसपटक दुर्गाका सबै प्रकारका गतिविधि र कारोबारको समेत अनुसन्धान गर्ने तयारी गरको छ ।
प्रहरी स्रोतका अनुसार दुर्गाकै समुहले भारतमा आतंक मच्चाइरहेको लोरेन्स विस्नोइ समूहको नाममा समेत व्यवसायीहरुलाई धम्काएको सूचना छ । यसका आधारमा उनीमाथि संगठित अपराधमा समेत विस्तृत अनुसन्धानको तयारी सीआईबीले गरेको छ ।
त्यसो त दुर्गा प्रसाइको अराजकता यो हदसम्म पुग्नु अघि राजनीतिक नेतृत्वको उनलाई साथ थियो । कतिसम्म भने नेकपा गठनको सुत्रधार नै उनैलाई मानिएको थियो । प्रसाईंकै घरमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको पटक-पटक बैठक भएका थिए । जसमध्येको एउटा तस्विर त अझै पनि चर्चामा छ । एमालेको केन्द्रीय सदस्य बन्न नपाएपछि भने उनी ओली र एमालेमाथि खनिँदै आएका थिए ।
बैंक तथा लघुवित्तको ऋण मिनाहा गर्ने भन्दै सडकमा आन्दोलन गराएर अराजकता मच्चाउँदा समेत उनलाई प्रशासनले कारबाहीको दायरामा ल्याउन सकेको थिएन । बैंकका कर्मचारीमाथि उनका सर्मथकले हातपात नै गरे । उनको साथबाट लाइसेन्स भएको हतियार समेत बरामद भयो । गत वर्ष मंसिर ७ गते काठमाडौंमा गरेको प्रदर्शनले उनको हौसला बढेको थियो । तै पनि सरकारले उनको गतिविधिमाथि कुनै निगरानी गरेन । त्यसको फाइदा उठाउँदै सामाजिक सञ्जालको चरम दुरुपयोग चलिरह्यो । गत असोज ६ गते साइबर अपराधको कसुरमै पक्राउ परेर धरौटीमा छुटेका दुर्गामाथि एउटा मुद्दाको टुंगो नलाग्दै अर्को अभियोग लाग्ने भएपछि ७ वर्ष सम्म कैद सजाय हुन सक्छ ।
दुर्गा प्रसाईंमाथि अनुसन्धान हुँदै गर्दा उनले प्रधानमन्त्रीमाथि लगाएको आरोपबारे पनि छानबिन हुनु पर्ने छ । दुर्गा प्रसाईंले भ्रमकै लागि यो हदसम्मको हर्कत गरेका हुन् भने उनी कठोर कारबाहीको भागिदार हुनै पर्छ । साथै जोसुकै भए पनि सामाजिक सञ्जालको दुरुपयोग गरेर सामाजलाई भड्काउन खोज्नेहरु कानुनको दायरामा आउनु पर्छ ।
र यो पनि...
दुर्गा प्रसाईंको अराजकता र साइबर अपराधसम्बन्धी कानुनको अभाव [टिप्पणी]