काठमाडौं । गहुँ, तोरीलगायतका हिउँदे बाली लगाउने सिजन सुरु भइसक्दासमेत किसानले सहजै रासायनिक मल पाउन सकेका छैनन् । अनुदानको मल वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनीका गोदाम भरिभराउ छन् । तर वितरणमा कार्यविधि बाधक बन्दा किसानले पाउन नसकेका हुन् ।
धान भित्र्याएपछि गहुँ, तोरीलगायतका हिउँदे बाली लगाउन जुटेका सुदूरपश्चिमको कैलाली, कञ्चनपुरदेखि मधेश प्रदेशसम्मका किसानले रासायनिक मल पाउन सकेका छैनन् । गहुँ लगाउनुअघि नै डीएपी मल हाल्नुपर्नेमा सहकारीले नदिएको गुनासो किसानको छ ।
किसानले मल नै नपाएको गुनासो गरिरहँदा सरकारले भने पर्याप्त मौज्दात रहेको दाबी गरेको छ । सरकारी तथ्यांक अनुसार अहिले ३० हजार टन डीएपी र ८१ हजार टन युरिया मल गोदाममा छ । तर गोदाममा थन्किएको मल किसानको मागअनुसार वितरण गर्न कार्यविधिको समस्या छ ।
प्रदेशले पालिकाहरुलाई मल वितरणको कोटा छुट्याएर दिन्छ । माग बढी भएका ठाउँमा कम आपूर्ति हुँदा किसानले पाउन नसकेका हुन् । अहिले गोदाममा थन्किएको मल माग नै नभएका पालिकाहरुको कोटा हो । तर मल वितरण गर्न कार्यविधि बाधक बनेकाले अब संशोधन गरेर सहज बनाउन लागिएको कृषि सामग्री कम्पनीले जनाएको छ ।
नेपाल सरकारले डीएपी, युरिया र पोटासमा ६२ प्रतिशतसम्म अनुदान दिएको छ । तर अनुदानको मल वितरण पारदर्शी पनि छैन । विगत १५ वर्षयता मल वितरणको जिम्मा सहकारीलाई मात्र दिँदा पनि किसानले भनेका बेला पाउन नसकेका हुन् ।