भोटखोलाबासीलाई दशैंमा पनि चामलकै चिन्ता

सङ्खुवासभाको उत्तरी क्षेत्रमा यसपालि पनि पुगेन अनुदानको चामल
आश्विन २१, २०८१ |दीपेन्द्र शाक्य
भोटखोलाबासीलाई दशैंमा पनि चामलकै चिन्ता

सङ्खुवासभा । नेपाल खाद्य संस्थानले दिने गरेको अनुदानको चामल यो वर्ष दशैं लागिसक्दा पनि सङ्खुवासभाको उत्तरी क्षेत्रमा पुग्न सकेको छैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका बेला सदरमुकाम खाँदबारीमा खाद्यको चामलमा छुट दिएपनि भोटखोलामा अनुदानको चामल पठाउने चाँजोपाँजो मिलाएको छैन ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको क्षेत्रीय कार्यालय विराटनगरले यो वर्षका लागि भोटखोलामा १ हजार ५ सय क्विन्टल चामलको कोटा छुट्याएको छ । कोटा छुट्याए पनि समयमै ठेक्का नखुलाउँदा चाडबाडका बेला भोटखोलामा चामल ढुवानी नहुने पक्का भएको हो । चीनको सीमावर्ती सङ्खुवासभाको चेपुवा, किमाथांका र हटिया गाउँमा खाद्यले वर्षैसाल दिने गरेको १५ सय क्विन्टल चामल समयमै ढुवानी हुन नसकेपछि त्यहाँ खाद्यान्नको समस्या छ । 

खाद्य संस्थानले यो वर्ष खाादबारीका लागि पठाएको १५ सय क्विन्टल चामल सदरमुकाममा प्रति किलो ५ रुपैयाँ मूल्य घटाएर बिक्री भइरहेको छ । ठेकेदारसँग सम्झौता ढिलाइ भएको बहाना बनाउँदै विराटनगरस्थित खाद्य संस्थानको क्षेत्रीय कार्यालयले अहिलेसम्म चामल ढुवानी गरेको छैन । स्थानीय प्रशासनले भने दशैँ अगावै भोटखोलामा चामल पुर्‍याउन ताकेता गरिरहेको जनाएको छ । 

खाद्य संस्थानको सङ्खुवासभा शाखाले भने मंसिरअघि भोटखोला क्षेत्रमा चामल पठाउन नसकिने बताउँदै आएको छ । स्थानीय उत्पादनले तीन महिना पनि धान्न नसक्ने यो क्षेत्रका बासिन्दाको यस वर्षको दशैंसमेत निकै नै कष्टकर हुने देखिएको छ ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।


Enter Kantipur TV HD
Advertisement