दाताले सहयोग रोकेपछि झापा र मोरङका शिविरमा भुटानी शरणार्थीलाई छाक टार्नै मुस्किल

पारिवारिक बिछोडका कारण अधिकांशलाई मानसिक समस्या
भाद्र २०, २०८१ |रमा दाहाल
दाताले सहयोग रोकेपछि झापा र मोरङका शिविरमा भुटानी शरणार्थीलाई छाक टार्नै मुस्किल

झापा । दाताहरुले हात झिक्दै गएपछि झापा र मोरङको शिविरमा रहेका भुटानी शरणार्थीको अवस्था दयनीय बन्दैगएको छ । केहीको गुजारा तेस्रो देश पुनर्वासमा गएका आफन्तले पठाएको सीमित रकमको भरमा जेनतेन चले पनि अधिकांशलाई छाक टार्नै मुस्किल छ । ३३/३४ वर्षअघि नै बनाइएका बासका जीर्ण छाप्रामा कष्टकर जीवन बिताइरहेका शरणार्थीहरुमध्ये अधिकांश पारिवारिक बिछोडका कारण मानसिक रोगको सिकारसमेत भएका छन् ।

झापाको बेलडाँगी शिविरमा रहेको छाप्रो नम्बर डी-चार ३९८ की ७० वर्षीया फूलमाया तामाङकोमा अन्न सकिएको धेरै दिन भयो । त्यही भएर उहाँको घरमा दुई दिनदेखि खाना पाकेन । हामी पुग्दा उहाँ अघिल्लै दिन बिहान बाँकी रहेको थोरै भात पानीले पखालेर खाादै हुनुहुन्थ्यो । सुगर, प्रेसरजस्ता रोगले थलिएकी उहाँको साथमा अब औषधि किन्ने पैसा पनि छैन । ओत लाग्ने छाप्रो टाल्न नस्क्दा पानी परेको रात सुत्न सक्ने अवस्था पनि छैन ।

बेलडाँगी शिविरकै ६८ वर्षीय चन्द्रबहादुर घिमिरे रोगले थलिएको चार पाँच महिना भयो । घिमिरेका तीन छोरा र एक छोरीमध्ये तेस्रो देश पुनर्बासका क्रममा एक छोरा अमेरिका र एक जना अष्ट्रेलिया पुगेका छन् । उनीहरुले कहिलेकाहिँ पठाउने पैसाले जेनतेन छाक टरे पनि औषधि उपचार घिमिरे परिवारमा ठूलो समस्यामा छ ।

तेस्रो देश पुगेकाहरुले पठाएको रकमले केही परिवारको जेनतेन छाक टरेपनि स्याहार सुसार नपाउँदा शिविरभित्र रहेका अधिकांश वृद्धवृद्धा रोगले थलिएका छन् । लामो समय परिवारबाट बिछोडिनु पर्दा युवाहरुमा पनि मानसिक समस्या देखिन थालेको छ । आर्थिक अभावसँगै मानसिक रोगको सिकार बन्नुपर्दा शिविरभित्र अप्रिय घटनाहरु हुनथालेको शरणार्थीहरु बताउँछन् ।

शरणार्थी शिविरभित्र यो अवस्था आउनु मानवअधिकार र सामाजिक न्यायका हिसावबले गम्भीर मानिने समाजशास्त्रीहरुको तर्क छ । तेस्रो देश पुनर्बासमा जान छुटेका भुटानी शरणार्थीलाई आफन्त भएको देशमा पुर्‍याउन स्वदेश तथा विदेशमा समेत पहल भइरहेको छ । यसका लागि अमेरिकास्थित वेलकम क्रप्स नामक संस्थाले नेपाल सरकारका विभिन्न निकायसमक्ष पहल गरिरहे पनि प्रक्रिया अघि बढेको छैन ।

केही तेस्रो देश पुनर्वास त केही अझै स्वदेश फिर्तीको आशमा दुःखकष्ट झेलिरहेका भुटानी शरणार्थी शिविरमा पुग्ने जोकसैको मन भक्कानिन्छ । 


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।