काठमाडौं । पशुपति क्षेत्र विकास कोषले हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शनका लागि भोलि बिहान तीन बजेदेखि नै चारै ढोका खोलिने जनाएको छ ।
कोषले आज पत्रकार सम्मेलन गरी पशुपतिनाथको दर्शका लागि चारवटै ढोका खोल्ने जानकारी दिएको छ । पाशुपत क्षेत्रमा पूजाका लागि पुग्ने दर्शनार्थीले गौरीघाट उमाकुण्ड, दक्षिणामूर्ती बासुकी हुँदै पश्चिम ढोकाबाट बाहिरिने व्यवस्था गरेको जनाएको छ । धेरै दर्शनार्थी एकै पटक पुग्दा मोबाइल सेवामा अवरोध नहोस् भनेर नेपाल टेलिकम र एनसेलले बिटिएस भ्यान प्रयोग ल्याउने छन् ।
सुरक्षाका लागि थप सुरक्षाकर्मीहरुको परिचालन गरिने छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा व्यवस्था गर्ने छन् । सादा पोशाकमा खटिएका सुरक्षाकर्मीले पिन निगरानी बढाउने कोषले जनाएको छ । नेपाली सेनासहितको टोलीले स्वास्थ्य सेवा सञ्चालन गर्ने छन् । त्यस्तै गौशाला वनकाली क्षेत्रमा सवारी साधनलाई पूर्णरुपमा रोक लगाइएको छ ।
दर्शनार्थीका लागि तिलगंगा आँखा अस्पतालनजिकैको खुला स्थान, सिफल चौर र गुहेश्वरी पारीको खाली स्थानमा पार्किङको व्यवस्था मिलाएको छ। तीजका दिन हुने भिडभाडका बेला चोरी हुन सक्ने भन्दै कोषले महंगा गरगहना लगाएर नआउनसमेत आग्रह गरेको छ ।