सरकारले अवरुद्ध सडक २ घण्टाभित्र खोल्ने दाबी गरिरहँदा पृथ्वी राजमार्ग २४ घण्टा पछि बल्ल एकतर्फी सञ्चालन

सडक निर्माण र व्यवस्थापनमा लापरबाहीले यात्रा सधैँ कष्टकर
भाद्र ६, २०८१ |सुमन पन्थ|प्रताप राना
सरकारले अवरुद्ध सडक २ घण्टाभित्र खोल्ने दाबी गरिरहँदा पृथ्वी राजमार्ग २४ घण्टा पछि बल्ल एकतर्फी सञ्चालन

तनहुँ/काठमाडौं । पृथ्वी राजमार्गमा पर्ने तनहुँको घाँसीकुवामा हिजो साँझ खसेको पहिरो २४ घण्डापछि बल्ला एकतर्फी सवारी चलाउने गरी पन्छाइएको छ । डाँडा नै राजमार्गमा खसेपछि पहिरो पन्छाउन सकस बनेको थियो । मुख्य राजमार्ग २४ घण्टादेखि अवरुद्ध हुँदा यात्रुले पाएको सकस भनिसाध्य छैन । पहिरो पन्छाउन समय लाग्ने भएकोले लामो दूरीका सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ । 

भदौरे झरीका कारण आएको बाढी र पहिरोका कारण ठाउँ ठाउँका सडक अवरुद्ध छन् । अहिले पनि दुई वटा राजमार्ग त पूर्ण रूपमै ठप्प छन् । २६५ सडक एकतर्फी मात्र सञ्चालनमा छन् । चाडबाड नजिकिँदै गर्दा यात्रुको ओहोर-दोहोर बाक्लिने बेला हाम्रा राजमार्ग भने धराप जस्तै भएका छन् । कहाँ, कतिखेर पहिरो खस्ने हो भन्ने त्रास बोकेर यात्रा गर्नुपर्ने बाध्यता छ । पहिरोले अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन सरकारी निकायको तत्परता देखिएको छैन ।

बुधबार काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ नागढुंगामा खसेको पहिरो पन्छाउन आठ घण्टा लाग्यो । संघीय राजधानीसँगै जोडिएको नागढुंगामा गएको पहिरो पन्छाउन दिनभर लाग्नुले हाम्रा संयन्त्र कति प्रभावकारी छन् भन्ने पुष्टि भएको छ ।

काठमाडौं, नारायणघाट, पोखरा, बुटवलजस्ता सहर जोड्ने अधिकांश सडक दिनदिनै अवरुद्ध हुने गरेका छन् । कालिगण्डकी कोरिडोरदेखि पूर्वी पहाडी जिल्ला जोड्ने सडकको अवस्था पनि उस्तै छ । एक त जीर्ण त्यसमाथि पहिरो खसेर अवरुद्ध हुँदा पनि मर्मतमा सरकारले ध्यान दिन नसकेको भन्दै संसद्मा समेत चर्को आलोचना भएको छ ।

संसद्मा चर्को आलोचनाको सामना गरिरहेका भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल भने निरीहता प्रकट गर्नुहुन्छ । यता सडक विभागले भने जोखिमयुक्त सडक आसपासमा झर्न सक्ने पहिरो पन्छाउन र सवारी आवागमनमा समस्या आउन नदिने साढे दुई सयभन्दा बढी हेवी इक्विपमेन्ट परिचालन गरेको दाबी गरेको छ । त्यसको अनुभूति सेवाग्राहीले भने गर्न पाएका छैनन् ।सडक निर्माण र व्यवस्थापनमा स्पष्ट नीति नभएकैले नागरिक हरेक वर्ष समस्यामा पर्ने गरेको विज्ञको राय छ । 

सडक विभागका अनुसार वैशाख यता मात्र ३४ वटा राजमार्ग मात्रै ५ सय ९ पटक अवरुद्ध भएका छन् । बाढी र पहिरोका कारण सडकमा १० करोड र पुलमा २९ करोड क्षति भएको छ ।

सम्बन्धित समाचार...

२४ घण्टापछि एकतर्फी खुल्यो पृथ्वीराजमार्ग


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।

Image

प्रताप राना

राना कान्तिपुर टीभीका तनहुँ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement