
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने व्यवस्था मिलाउने बताउनुभएको छ ।
राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले बुधबार आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने विषयमा नेपाल राष्ट्र बैकसँग परामर्श गरी प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाउनु भयो । नेपाल संवत विशेष गरी कान्तिपुर र भादगाउँमा उत्पत्ति भए पनि राष्ट्रकै मौलिक संवत् भएको उहाँको भनाइ छ ।
नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः एक कुशल व्यापारी भए पनि उहाँ नाफा कमाउने व्यापारी नभएको उहाँले बताउनु भयो । साख्वाः एक महान समाजसेवी र लोक कल्याणकारी व्यक्तित्व भएको उहाँको भनाइ छ ।
उहाँकाअनुसार ११४६ वर्ष अगाडी राजा रागवदेवको शासनकालमा शंखधर साख्वाःले गरिबी र ऋणमा डुबेका नागरिकहरूको ऋण विमोचन गरी ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने ऐतिहासिक निर्णय लिनुभयो ।यो दिन नै नेपाल संवत्को सुभारम्भको आधार भएको प्रधानमन्त्री कार्कीले बताउनु भयो । विसं ९३६ मा नेपाल संवत्को थालनी गरिएको उहाँले जानकारी दिनुभयो ।
नेपाल संवत् कुनै राजाको शक्ति वा युद्धको विजयबाट प्राप्त नभई एक व्यापारीको त्याग र परोपकारको आधारमा सुरू भएकोले यसको महत्व निकै उच्च रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ । नेपाल संवत् लोकस्तरबाट उत्पत्ति भएको र यसले लोक विरासत बोकेको उहाँले बताउनु भयो ।
प्रधानमन्त्री कार्कीले नेपाल संवत्लाई सरकारी कागजातमा समेत उल्लेख गरेर सरकारले यसलाई प्रवर्द्धन र व्यवहारिक रूपमा लागू गर्न तत्पराता देखाएको बताउनु भयो । नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः लाई विसं २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको थियो । नेपाल संवत्लाई भने २०६५ कात्तिक ७ गते राष्ट्रिय संवत घोषणा गरिएको थियो ।