नेपाल सम्वतको नयाँ वर्ष ११४६ आजबाट शुरु

राष्ट्रिय विभुति शंखधर साख्वाले विपन्न जनतालाई ऋण मुक्त बनाएको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरि मनाइँदै
कार्तिक ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाल सम्वतको नयाँ वर्ष ११४६ आजबाट शुरु

काठमाडौं । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराउनुभएको थियो । नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरको भनाइ छ । 

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल सम्वतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो । नेपाल सम्वतलाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले विशेषरुपमा मनाउने गरिन्छ ।

२०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साःख्वालाई राष्टिय विभूति घोषणा गर्नुभएको थियो । विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.