मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि सबै पक्षको उचित सहयोगको आवश्यकता छ : प्रधानमन्त्री कार्की

कार्तिक ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि सबै पक्षको उचित सहयोगको आवश्यकता छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा सबै पक्षलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।

नेपाल संवत्‌को अवसर पारेर बुधबार काठमाडौंको वसन्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले जेन-जी आन्दोलनले भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा उठाएको आवाजलाई सम्बोधन गर्ने मूल दायित्व सरकारमाथि रहेको उल्लेख गर्दै सो अभिभारा पूरा गर्नका लागि सबैलाई साथ दिन आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री कार्कीले सरकारले निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनको मुद्दामा मौन बसेको छ भन्ने सत्य नभएको स्पष्ट पार्दै त्यसमा परिणाम आउने गरी राज्यको संयन्त्रहरूबाट काम भइरहेको दाबी समेत गर्नुभयो ।

उहाँले नेपालको संविधानको अधिनमा रही सरकारले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा काम गरिरहेको समेत बताउनु भयो । उहाँले भ्रष्टाचार नियन्त्रण, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै लोकतन्त्रलाई जीवित राख्ने र भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा पूरा गर्न सबै राजनीतिक दल, वर्ग र समुदायले सरकारलाई सहयोग गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री कार्कीले नेपाल संवत् नेपालीहरूको मौलिक संवत्‌काे रूपमा रहेकाले त्यसका संरक्षण संवर्द्धन गर्न सरकारले विशेष ध्यान दिएको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.