काठमाडौं । नेपाल संवत्लाई सरकारले नै राष्ट्रिय संवत्को मान्यता दिइसकेको छ । तर पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
संस्कृतिविद्हरू भने नेपाल संवत् वैज्ञानिक भएकाले दैनिक प्रयोगमा कुनै कठिनाइ नभएको बताउँछन् । चन्द्रमाको गतिअनुसार चल्ने यो संवत्का महिनाहरू शुक्लपक्ष र कृष्णपक्ष भनेजस्तै सुरूका १५ दिन पारूदेखि पुन्हि र अर्को पारूदेखि आमाइ गरी १५ दिन तिथि र बार गरी दुई भागमा विभाजन गरिएको हुन्छ ।
शुक्लपक्ष जनाउन महिनाको अन्त्यमा थ्व जस्तै कछलाथ्व जोडिन्छ भने कृष्णपक्षको अन्त्यमा गा जस्तै कछलागा जोडिन्छ । कछला भन्नाले कात्तिक महिना जनाउँछ । यी शब्द नेपाल भाषाबाट प्रयोग गरिएका हुन् । नेपाल संवत्को वर्षमा ३ सय ५४ दिन हुन्छन् ।
नेपाल संवत्मा प्रत्येक ३ वर्षमा अधिकमास अर्थात् अनला आउँछ । यो वर्ष १३ महिनाको हुन्छ । नेपाल संवत्को प्रयोग शिलालेख तथा अभिलेखमा मात्र नभई जन्मदेखि मृत्युपर्यन्तका साथै धार्मिक साँस्कृतिक सामाजिक जात्रा पर्वहरूमा समेत प्रयोग हुँदै आएको छ ।
पछिल्लो समय सरकारले सरकारी कागजातमा पनि नेपाल सम्वतको प्रयोग गर्दै आएको छ । दैनिक प्रयोगमा ल्याउन पनि कुनै कठिनाइ नभएको संस्कृतिविद् बताउँछन् । नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिँदै यसका प्रवर्तक शंखधर साख्वालाई समेत सरकारले राष्ट्रिय विभूति घोषणा गरेको छ ।
नेपाल संवत्को नयाँ वर्षको दिनलाई उत्सवका रूपमा देशभर मनाउने चलन छ ।