सुक्दै भूमिगत पानीका स्रोत, मुख्य कारण- वन फँडानी र चुरे दोहन

पानीको सतह घट्दै जाँदा पनि सरकारले गरेन अध्ययन
श्रावण १३, २०८१ |विकास आचार्य
सुक्दै भूमिगत पानीका स्रोत, मुख्य कारण- वन फँडानी र चुरे दोहन

काठमाडौं । विगत वर्षको तुलनामा गत चैत-वैशाखमा देशका धेरै ठाउँमा पानीका मुहान सुके । तराई र भावर क्षेत्रका अधिकांश कलबाट मात्र होइन डिप बोरिङमा पनि पानी आएन । पहाडी क्षेत्रमा पनि मुहान र खोला-नाला सुक्दा पिउने पानीको खोजीमा नागरिक भौंतारिनुपर्यो ।

बाली लगाउन किसानले समस्या भोग्नुपर्यो । जेठ अन्तिमदेखि मनसुनी वर्षा भएपछि अहिले केही राहत त भएको छ, तर पर्याप्त छैन । हिउँद लागेपछि फेरि उही समस्या दोहोरिने हो कि भन्ने चिन्ता पनि छ । वर्षात्‌को समयमा जमिनले सोसेको पानीले हिउँदमा घटेको पानीको सतह पुनर्भरण गर्छ त ? कि पानीको सतह नै घट्दै गएको हो ?

जमिनमुनिको पानीको सतह घट्दै गएको भन्ने बहस सदैव हुन्छ । तर यसबारे नेपालमा अध्ययन नै भएको छैन । अर्कोतर्फ वर्षाका बेला आउने पानीले जमिनमुनिको पानीको सतह बढाउँछ कि बढाउँदैन ? यो पनि अध्ययनको विषय हो ।

बारा, पर्सा, रौतहटलगायत जिल्लामा गएको हिउँदमा ट्यांकरले बोकेर पानी बाँड्नुपर्यो । कारण थियो- हाते पम्प अर्थात् चापाकलमा पानी नआउनु र स्थानीय खोलाको मुहानै सुक्नु । त्यसबेला अधिकांश डिप बोरिङबाट पनि पानी आएन । तर अहिले पछिल्लो दुई महिनादेखि लगातार पानी परिरहेको छ । पानी परेपछि बाढी र डुबानको चपेटामा नागरिक परिरहेका छन् । तर, कलमा पानी आएको छैन र खानेपानीको समस्या भने ज्युको त्युँ छ । ‘चार-पाँच वर्षदेखि त चापाकलमा पानी आएकै छैन । पानी खोज्न घण्टाघरदेखि धेरै ठाउँमा हिँड्नुपरेको छ । सरकारी धाराबाट अलिअलि पानी आउँछ । तर चापाकलमा पानी नै आउँदैन,’ वीरगन्जकी सुदामा देवीको गुनासो छ ।

तराईसहित पूर्वीदेखि पश्चिमसम्मै चुरे र भावर क्षेत्र पानीको संकटोन्मुख हुँदै गएको छ । भूमिगत पानीको अत्यधिक प्रयोग गर्ने प्रवृत्ति र चुरे तथा भावर क्षेत्रमा नदीजन्य वस्तुको चरम दोहनका कारण तराईमा पानीको सतह कम हुन थालेको हो । पानी सुक्न थालेपछि पहिलाभन्दा तेब्बर गहिराइमा पाइप गाड्न थालिएको छ । यसले पनि जमिनमुनिको पानीको सतह घटेको देखिन्छ । तर, पानीको सतह घट्दै गएको स्वीकार गर्न सिँचाइ विभाग तयार छैन ।

विभागले पानीको सतह घटेको हो वा होइन भन्ने अध्ययनचाहिँ अहिलेसम्म गरेको छैन । भूमिगत पानीको अवस्था अध्ययन गर्न र जानकारी गराउन सरकारले ‍‍‍‍‍२०३३ सालमा विकास समिति नै गठन गरेको थियो । तर काम नै गर्न नसकेपछि पुष्पकमल दाहाल नेतृत्वको अघिल्लो सरकारले खारेज गरिदिएको थियो । भूमिगत जलविज्ञ एन्डीप्रकाश भट्ट भने सरकारले देशभरकै भूमिगत पानीको अध्ययन गर्नुपर्ने जिकिर गर्नुहुन्छ ।

नेपालमा वार्षिक करिब १६ सय मिलिमिटर पानी गरे पनि जमिनले पर्याप्त मात्रामा सोसेर राख्न सकेको छैन । अव्यवस्थित सहरीकरण, चुरेदोहन, वन फँडानीलगायत कारण पानी कम पर्ने, परेको पानी पनि जमिनले सोस्ने क्षमता घटेकाले भूमिगत पानीको स्रोत घट्दै गएको देखिन्छ । त्यसमाथि भण्डारण हुने पानीभन्दा प्रयोग हुने मात्रा बढ्दै जानुले पनि पानी अपुग हुँदै गएको हो ।

विभिन्न तथ्यांकले १३ विलियन क्युबिक मिटर पानी जमिनमुनि रहेको र अधिकतम प्रयोग गर्दा पनि ५० प्रतिशत बचत हुने देखाएको छ । तर, पानीको पुनर्भरण नहुँदा अभाव लगातार बढ्दो छ । जमिनमुनि किन पानी पुनर्भरण हुन सकिरहेको छैन । यसको कारण के हो भनेर अध्ययन र कार्यान्वयन गर्न ढिलाइ भइसकेको छ ।

हेर्नुहोस् विकास आचार्यका  थप स्टोरी ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement