बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका बासिन्दालाई सधैँ वन्यजन्तुको डर

२३ वर्षमा पचास जनाको मृत्यु
नागरिकको सुरक्षाका लागि सरकारसँग छैन कुनै योजना
असार ४, २०८१ |कमल पन्थी
बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका बासिन्दालाई सधैँ वन्यजन्तुको डर

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज र सीमावर्ती भारतीय कतरनियाघाट वन्यजन्तु आरक्षबीचको खाता जैविक मार्गमा वन्यजन्तु ओहोर दोहोर गरिरहन्छन् । यहाँ हिँड्ने हात्ती, बाघ र गैँडा आसपासका बस्तीमा पनि प्रवेश गर्छन् र मानिसमाथि आक्रमण गर्छन् । जंगली जनावर स्थानीय बस्तीमा पटक पटक प्रवेश गरी आक्रमण गर्दा २०५७ सालयता मात्रै ५० जनाको मृत्यु भइसकेको छ ।

कक्षा ७ मा अध्ययनरत मधुवन नगरपालिका- १ का युवराज थारुलाई विद्यालयबार्ट फर्किँदै गर्दा २०७२ साल भदौ ३० गते हात्तीले आक्रमण गर्‍यो । उनको घटनास्थलमै मृत्यु भयो । सोही दिन साँझ ६८ वर्षीय पुरई थारुको ज्यान पनि हात्तीले लियो । दश वर्षयता यस जैविक मार्ग तथा आसपासका क्षेत्रमा हात्तीको आक्रमणबाटै १२ जनाको ज्यान गइसकेको छ । ३ किमी टाढा रहेको स्कुलमा छोरा, छोरीलाई पढ्न पठाउनै स्थानीयलाई डर छ । ‘मेरो यस्तो घटना भयो, अरूको नहोस् । अरूका छोराछोरी पढ्न जान्छन्, कसैलाई यस्तो अवस्था नहोस्,’ युवराजको आमा लीला थारुले भन्नुभयो ।

जैविक मार्ग आसपासका गाउँमा हात्तीले बर्सेनि दर्जनौँ घर भत्काउँदै आएको छ । हात्ती गाउँमै पस्छ, स्थानीय रातभर जाग्राम बस्न बाध्य हुन्छ । खेतमा लगाएको बालीनालीमा पनि उत्तिकै क्षति पुर्याउँछ । हात्तीलाई गाउँ पस्नबाट रोक्ने कुनै उपाय अपनाइएको छैन । 

हात्तीलाई सानो क्षेत्रमा रोक्न सकिँदैन, ठूलो क्षेत्र चाहिन्छ । जंगलभित्रै पानी र घाँसे मैदान भए प्रायः जंगली जनावर बस्तीमा प्रवेश गर्दैनन् । बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २० वटा हात्ती भएको अनुमान छ । 

हात्ती, बाघ लगायत वन्यजन्तुका कारण बर्सेनि जनधनको ठूलो क्षति हुँदै आएको छ । २०५७ सालयता मात्रै ५० जनाको मृत्यु भएको छ । बस्तीमा जंगली जनावरको प्रवेश र मानिसमाथिको आक्रमण रोक्न दीर्घकालीन उपाय खोज्न जरुरी छ । 


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।