मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आज ४ बजेसम्मको समयसीमा

कांग्रेस नेतृत्वमा दावी पेश गर्न एमाले सहमत, कांग्रेस एमालेबाहेकको सरकार बनाउन अन्य दलहरु पनि छलफलमा
आश्विन २९, २०८२ |अमरकान्त ठाकुर
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आज ४ बजेसम्मको समयसीमा

धनुषा ।  मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरुले छलफल तिब्र पारेका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दिनुभएको समयसीमा आज अपराह्न ४ बजे सकिदैछ । मधेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार सरकार गठन गर्ने गरि एमाले र जनमत पार्टीले छलफल गरिरहेका छन् भने कांग्रेस एमालेबाहेकका दलहरु पनि छुट्टै सरकार गठन गर्ने गरि छलफलमा छन् ।

मधेशमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा सरकार बनाउन एमालेले अग्रसरता देखाएको हो । त्यसका लागि कांग्रेस र एमालेले जनमत पार्टीसँग छलफल गरिरहेका छन् । जनमतलाई मिलाएर मन्त्रालयको भागवण्डा गरी आज दावी पेश गर्ने कांग्रेस एमालले जनाएका छन् ।

त्यसो त मधेशमा रहेका कांग्रेस एमाले बाहेकका दलहरूको बैठक पनि जारी छ । जसपा नेपाल, नेकपा माओवादी केन्द्र, लोसपा नेपाल र एकीकृत समाजवादी दलबीच छलफल चलिरहेको छ । बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेस र एमाले बाहेकको विकल्पको सरकार बनाउने गरी प्रयास भइरहेको छ ।

१ सय ७ सदस्य रहेको मधेश प्रदेशसभामा सरकार बनाउन ५४ सिट आवश्यक छ । मधेशमा एमालेको २५, कांग्रेसको २२ सिट छ । जसपा नेपालको १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीको ७ सिट छ । नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादी पार्टीको १–१ सिट छ ।

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले हिजो दलहरूलाई आह्वान गर्नु भएको हो । आज अपराह्न ४ बजेसम्मको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि उहाँले आह्वान गर्नुभएको हो ।

यसअघि मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट दिएको राजीनामा उहाँले स्वीकृत गर्नुभएको थियो । 


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।