चटपटे बेचेर जम्मा गरेको रकम सहकारीले पचाइदिएपछि...

पीडित भन्छन्- छाक टार्न र उपचार गर्न पाएनौं
सरकारले सहमति कार्यान्वयन नगरेपछि सहकारीपीडित पुन: आन्दोलित
बचत रकम फिर्ता माग्दै काठमाडौंसहित प्रमुख सहरमा प्रदर्शन
जेष्ठ ११, २०८१ |नारायण किलम्बू
चटपटे बेचेर जम्मा गरेको रकम सहकारीले पचाइदिएपछि...

काठमाडौं । पटक-पटक सरकारको ध्यानाकर्षण गर्दा पनि आफूहरुले सहकारीमा राखेको रकम फिर्ता नभएपछि देशभरका पीडितले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् ।

श्रम गरेर थोरै-थोरै गरी जम्मा पारेको बचत हिनामिना भएकाहरुको संख्या हजारौं छ । तर न सरकारले उनीहरुको हिनामिना भएको रकमको खोजी गरिदिएको छ न त डुबेको रकम फिर्ता दिलाइदिन कुनै पहल नै गरेको छ । यसअघि आफैंले गरेको सहमतिसमेत सरकारले कार्यान्वयन नगरेपछि पीडितहरुले राजधानी केन्द्रित आन्दोलन गर्न बाध्य भएका हुन् ।

काठमाडौंकी ६० वर्षीया महालक्ष्मी मैनाली शुक्रबार सहकारी सञ्चालकविरुद्ध माइतीघरमा सुरु भएको आन्दोलनमा उत्रनुभयो । आफूले मिहिनेत गरी जम्मा गरेको पैसा कोटेश्वरको परस्पर सहकारी संस्थाले फिर्ता नदिएपछि उहाँ आन्दोलनमा उत्रिनुभएको हो । नसासम्बन्धी समस्या, ग्यास्टिकलगायत रोगले ग्रस्त महालक्ष्मीले उपचारका लागि आफैंले जम्मा गरेको रकम फिर्ता नपाएपछि प्लेकार्ड बोकेर हिँड्नुपरेको छ ।

महालक्ष्मीजस्ता हजारौं सहकारीपीडितको समस्या उस्तै छ । दिनरात नभनि चटपटे बेचेर जम्मा गरेको पैसा गेट वे सहकारीले फिर्ता नदिएपछि समृता राई पनि फिर्ता पाउने आशामा आन्दोलनमा सहभागी हुनुभयो । आफूले जम्मा गरेको दुई लाख ५० हजार रुपैयाँ फिर्ता पाउनुपर्ने माग उहाँको छ । बचत फिर्ता नपाएपछि सन्तानलाई शिक्षा दिनसमेत उहाँलाई मुस्किल परेको छ ।

सरकारी तथ्यांकअनुसार देशभरका ३१ हजार पाँच सय सहकारीमा करिब ७० लाख बचतकर्ता छन् । तीमध्ये करिब पाँच सय सहकारीले बचत फिर्ता गरेका छैनन् । ७५ हजारभन्दा बढी बचतकर्ता न्यायका लागि रोइकराइ गरिरहेका छन् । उनीहरुलाई सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले एकीकृत गरेर न्याय खोज्दै शुक्रबारदेखि काठमाडौंमा उतारेको हो ।

सहकारी पीडितहरुको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुशलभ केसीले सहकारी पीडितहरुको बचत फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताउनुभयो । सरकारले दुईपटक सहकारी समस्या समाधान गर्ने सम्झौता गरे पनि कार्यान्वयन नभएकाले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रनुपरेको उहाँको भनाइ छ ।

आन्दोलनमा सहभागी हुन देशका विभिन्न जिल्लाबाट पीडितहरु काठमाडौं आएका छन् । पोखरा, बुटवल, चितवन, नवलपरासी, धरानलगायत सहरमा सहकारीपीडितको आन्दोलन सुरु भएको हो । तर सरकारले पीडितका माग सुन्ने र सम्बोधन गर्नेतर्फ चासो दिएको छैन ।

आन्दोलन उत्कर्षमा पुग्दा सहकारी बचत पीडितसँग सम्झौता गर्ने अनि कार्यान्वयन नगर्ने सरकारको प्रवृत्तिकै कारण सहकारीको समस्या पुन: बल्झिएको हो । यस्ता समस्या समाधानका लागि सरकारले कार्यान्वयनका ठोस पहलकदमी लिनुपर्छ ।

यो पनि...

सहकारी ठगलाई कारबाहीको माग, सदनदेखि सडकसम्म चर्कियो आन्दोलन

सरकारले माग सम्बोधन नगरेको भन्दै सहकारीपीडितहरु पुनः आन्दोलित (तस्बिरसहित)

सरकारले सहमति कार्यान्वयन नगरेपछि सहकारीपीडित फेरि आन्दोलित


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।