काठमाडौं । तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । यमपञ्चकसमेत भनिने तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि वृद्धि भई छैटौँ दिनमा भाइटीका परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।
आज दिनभर टीका लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ३९ मिनेटको अभिजित् मुहूर्तको समय उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले बताउनुभयो । यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।
टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।
नेवार समुदायले भने आज किजापूजा मनाउँदैछन् । भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउने गर्दछन् । भक्तपुरका नेवार समुदायका केहीले भने हिजो नै किजापूजा गरेका छन् ।