नियमविपरीत चलेका ट्रायल सेन्टरहरूलाई कारबाही गर्न निर्देशन

जेष्ठ ३, २०८१ |जितेन्द्र झा
नियमविपरीत चलेका ट्रायल सेन्टरहरूलाई कारबाही गर्न निर्देशन

काठमाडौं । सवारी चालक अनुमतिपत्र अर्थात् ड्राइभिङ लाइसेन्सको प्रयोगात्मक परीक्षा लिन अधिकांश ट्रायल सेन्टरहरू नियमविपरीत चलेको भन्दै सतर्कता केन्द्रले सरकारी निकायलाई नै कारबाहीको निर्देशन दिएको छ । कारबाहीको पत्राचारपछि ट्राफिक प्रहरी नखटिँदा काठमाडौं उपत्यकामा ट्रायल लिने काम नै ठप्प भएको छ । यसले महिनौँ कुरेर ट्रायलको पालो पाएकाहरू पीडित भएका छन् । 

काठमाडौं उपत्यकाका ट्रायल सेन्टरहरूमा सवारी चालक अनुमति पत्रसम्बन्धी प्रयोगात्मक परीक्षा दिन पुगेकाहरू बिहीबार त्यसै फर्किए । सतर्कता केन्द्रले गरेको छानबिनले काठमाडौं, भक्तपुर र ललितपुरका अधिकांश ट्रायल सेन्टरहरू नियमविपरीत सञ्चालन भइरहेको निष्कर्ष निकालेको छ । ट्रायल सेन्टरका लागि सरकारले बनाएको निर्देशिकामा भएको व्यवस्था तथा मापदण्ड पालना नै नगरी ट्रायल सेन्टरहरू सञ्चालन भइरहेको केन्द्रको ठहर छ । 

त्यसै आधारमा ट्राफिक प्रहरी र यातायातका कर्मचारी नखटिँदा बिहीबार काठमाडौं उपत्यकाका कुनै पनि ट्रायल सेन्टरमा ट्रायल भएन । यातायात कार्यालयहरूले जेठ ३ गतेदेखि अनिश्चित कालसम्म लाइसेन्सको प्रयोगात्मक अर्थात् ट्रायल स्थगित भएको सूचना जारी गरेका छन् ।

भक्तपुरको राधेराधे, काठमाडौंको ठूलो भर्‍याङ र चाबहिल, ललितपुरको एकान्तकुनामा रहेका यातायात कार्यालयहरूलाई केन्द्रले नियमविपरीत चलेका ट्रायल सेन्टरहरूलाई कारबाहीको निर्देशन दिएको हो । ट्रायल सेन्टरहरूले मापदण्ड विपरीत आफूखुसी ट्रायल सेन्टरको पूर्वाधार बनाएका छन् । यसले परीक्षार्थी झुक्किएर फेल हुने गरेको र फेल भएपछि घुस दिनेदेखि दलालको फन्दामा पर्ने गरेका छन् । 

यातायात कार्यालयको मिलेमतोमा नियमविपरीत ट्रायल सेन्टरहरू चलिरहेका छन् : सतर्कता केन्द्र

ट्रायल सेन्टरहरूले मनोमानी शुल्क लिने र मापदण्ड पनि नमान्ने भए पनि कारबाही भने हुन सकेको छैन । ट्रायल सेन्टर मापदण्डअनुसार भए नभएको अनुगमन गर्ने काम यातायात कार्यालयहरूको हो । ट्रायल सेन्टरहरू यातायात कार्यालयमा दर्ता हुन्छन् । हरेक वर्ष नवीकरण गर्दा प्राविधिक रूपमा मापदण्ड ठीक भए नभएको जाँच गर्नुपर्छ । तर यातायात कार्यालयको मिलेमतोमा यस्ता ट्रायल सेन्टरहरू चलिरहेको सतर्कता केन्द्रले जनाएको छ । 

सतर्कता केन्द्रले ट्रायल सेन्टरहरूको अनुगमनका क्रममा लेआउट क्रम नमिलेको, ट्राफिक सिग्नल टेस्ट निर्देशिकामा तोकिए बमोजिम नभएको जस्ता दर्जनौँ कमी कमजोरी औँल्याएको छ । केन्द्रले बागमती प्रदेशको श्रम तथा यातायात व्यवस्था मन्त्रालय र उपत्यका स्थित यातायात व्यवस्था कार्यालयहरूसँग यसबारे जवाफ मागे पनि उनीहरूले कुनै जवाफ नदिएको सतर्कताले गरेको पत्रमा उल्लेख छ । वैशाख २ र १८ गते सतर्कता केन्द्रले यस्तो बेथितिका कुरा औँल्याउँदै जवाफ दिन भनेको थियो । तर ती निकायले कुनै जवाफ फर्काएनन् । 

ट्रायल सेन्टरहरूको सञ्चालन तथा व्यवस्थापनमा कानुनको अक्षरशः कार्यान्वयन गरेर मात्र प्रयोगात्मक परीक्षा सञ्चालन गर्न, गराउनुपर्ने सतर्कताको निर्देशन छ । तर, अहिले बिना पूर्व सूचना ट्रायल नै बन्द गरिएको छ । सबै परीक्षा उत्तीर्ण गरेका लाखौँ सेवाग्राहीले महिनौँदेखि लाइसेन्स पाइरहेका छैनन् । अहिले देखिएको समस्याले महिनौँ कुरेर ट्रायलको पालो पाएकाहरू पनि पीडित भएका छन् ।


Image

जितेन्द्र झा

झा कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।