कोहलपुरमा सरकारी जग्गामा बनेका ७ सय ५० घर-टहरा हटाउन ७ दिनको म्याद

वैशाख २६, २०८१ |सविता जीसी
कोहलपुरमा सरकारी जग्गामा बनेका ७ सय ५० घर-टहरा हटाउन ७ दिनको म्याद

बाँके । कोहलपुर नगर विकास समितिको जग्गा अतिक्रमण गरी निर्माण गरिएका ७ सय ५१ घर-टहरा गृह प्रशासन र स्थानीय सरकारले हटाउने भएको छ ।

सुरक्षा अधिकारीसहितको सर्वदलीय–सर्वपक्षीय बैठकले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा फिर्ता गराउने निर्णय गरेको हो । गृह मन्त्रालयले पनि स्थानीय प्रशासनलाई अतिक्रमित सरकारी जग्गा फिर्ता गर्न निर्देशन दिएको छ । 

राजनीतिक आड र संरक्षणमा कोहलपुरको क्रिकेट मैदान वरपर ७ सय ५१ घर-टहरा निर्माण गरिएका छन् । करिब १५ वर्ष अघिदेखि कोहलपुर नगर विकास समितिको जग्गा अतिक्रमण हुँदै आएको हो । 

पटक-पटक बस्ती हटाउने भनिए पनि गृह प्रशासनले सहयोग नगरेकाले सम्भव भएको थिएन । तर, अहिले गृह मन्त्रालयले नै जग्गाबाट बस्ती हटाउने निर्देशन दिएकाले कोहलपुर नगरपालिकाले ७ दिनभित्र बस्ती खाली गर्न सूचना जारी गरेको छ ।

कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले बस्ती खाली नगरिए वा अटेर गरे बल प्रयोग गरेर भए पनि खालि गराउने चेतावनी दिनु भएको छ । 


Image

सविता जीसी

जीसी बाँकेस्थित कान्तिपुर टेलिभिजनकी क्यामेरा पर्सन हुन् ।