एमालेमा केपी ओलीलाई जिल्लाका नेताकै चुनौती !

चैत्र १९, २०८० |दशरथ राई
एमालेमा केपी ओलीलाई जिल्लाका नेताकै चुनौती !

काठमाडौं । सत्तारुढ नेकपा एमाले यतिखेर ७७ वटै जिल्लाको नेतृत्व चयनको दौडधुपमा छ । पार्टीको आगामी महाधिवेशन र नेतृत्वलाई समेत प्रभाव पार्न सक्ने देखिएको जिल्ला अधिवेशन आफूअनुकूल बनाउन स्वयं अध्यक्ष केपी ओली देश दौडाहमा छन् ।

कतिसम्म भने उनले आफूले भनेअनुसारै सहमतिमा नेतृत्व छान्न निर्देशन मात्रै दिइरहेका छैनन्, कतै कतै त भनेको नमान्नेहरु चितवन महाधिवेशनमा झै पाखा लाग्नुपर्ने चेतावनी पनि दिइरहेका छन् । तर उनको यो चेतावनीलाई कतिपय जिल्लामा नेताहरुले चुनौती दिँदै उम्मेदवारी मात्रै दिएका छैनन्, जित्नेहरु पनि छन् । संस्थापन पक्षबाट अघि सारिएका नेताको पराजयले अध्यक्ष ओलीलाई समेत धक्का पुगेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहजिल्ला झापामा पार्टी अधिवेशन पाँच दिनदेखि रोकिएको छ । त्यसको कारण अरु केही होइन, स्वयं अध्यक्ष ओली नै हुन् । पाँच दिनअघि जिल्ला अधिवेशन उद्घाटन गरेका ओलीले सहमतिमा नेतृत्व छान्न दबाब दिइरहेकाले अधिवेशन रोकिएको हो । उनले सहमतिको कुरा मात्र गरेका छैनन्, आकांक्षी जति सबैलाई जम्मा गरेर सहमति नगरे, नमान्ने जतिको हालत चितवनमा भएको दशौं महाधिवेशनका व्यक्तिको झै हुनेछ भन्दै चेतावनी दिएका छन् । तर ओलीको यो चेतावनीलाई सबैले मानेनन् ।

उनको चेतावनीलाई चुनौती दिँदै असन्तुष्ट पक्ष चुनावी प्रतिस्पर्धाकै अडानमा छ । जसका कारण झापामा अहिलेसम्म जिल्ला कमिटीको नेतृत्व चयन हुन सकेको छैन । सहमतिको नाममा अधिवेशन लम्ब्याएर गलाउन खोजेपछि कतिपय प्रतिनिधि घर फर्किसकेका छन् । तर ओलीको निर्देशनको विपक्षमा रहेकाहरु भने अहिले पनि चुनावकै मागमा छन् ।

झापामा अध्यक्ष ओलीको चेतावनी सहितको निर्देशनपछि अध्यक्ष र उपाध्यक्षमा सहमति भएको बताइए पनि सचिव तथा सहसचिवसहितका पदमा भने सहमति भएको छैन ।

यता सिन्धुपाल्चोकमा सहमतिको प्रयास असफल भएपछि दुई पक्षबीच चुनावी प्रतिस्पर्धा सुरु भएको छ । उता लमजुङमा संस्थापननिकट उम्मेदवारलाई पराजित गर्दै उपमहासचिव पृथ्वी सुब्बा गुरुङ निकटले जितेका छन् । संस्थापन पक्षको निर्देशन उल्ट्याउँदै उदयपुर, कास्की र धादिङमा प्रतिस्पर्धाबाट नेतृत्व चयन भइसकेको छ । यसअघि केही प्रदेशमा पनि अध्यक्ष ओलीले सहमति गर्न निर्देशन दिँदा त्यो प्रयास असफल भएपछि चुनावबाटै नेतृत्व टुंग्याउनुपरेको थियो । ओलीनिकट नेताहरु भने सहमतिको कुरा गर्न छाडेका छैनन् ।

जिल्ला र प्रदेश तहमा नेतृत्वले चाहेजस्तै शतप्रतिशत हुन सकेको छैन । सहमतिका नाममा आफू अनुकूलका व्यक्तिलाई अध्यक्षनिकट समूहले स्थापित गर्न खोज्दा असन्तुष्टि जनाउनेहरु बढ्दै गएको देखिन्छ । तर खुलेर अध्यक्ष ओलीको कार्यशैलीमा प्रश्न उठाउने आँट भने कसैले गरेको देखिन्न ।

आगामी महाधिवेशनबाट फेरि अध्यक्ष हुने दाउमा रहेका एमाले अध्यक्ष ओलीलाई सर्वेसर्वा नेताका रुपमा स्थापित गर्न संस्थापन समूह नै लागेको छ । बहुपदीय संरचना भए पनि ओलीको कार्यशैली र निर्देशन नै पार्टी हो भन्ने जसरी काम भइरहँदा उनीमुनिका नेताहरु तैं चुप मैं चुपजस्तै छन् । दुई वर्षअघि चितवनमा भएको पार्टीको १०औं महाधिवेशनमा जस्तै अध्यक्ष ओलीले दिएको पद लिएर चित्त बुझाएकाहरु भने भित्रभित्रै आफ्नो शक्ति सञ्चयमा जुटेको देखिन्छ । जिल्लाहरुमा भएका अधिवेशन र ओलीको सहमतिको रटान उल्लंघन त्यसैको उदाहण हो ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।