न्याय दे सरकार ! (फोटो फिचर)

पीडा सुनाउन राजधानी आइपुगेका पीडितको न्याय पाउने आशा
फाल्गुन ९, २०८० |राजेन्द्र महर्जन
न्याय दे सरकार ! (फोटो फिचर)

काठमाडौं । न्याय खोज्न भन्दै देशभरबाट मिटरब्याजपीडित २३ दिन पैदल हिँडेर आज काठमाडौं प्रवेश गरेका छन् ।

मिटरब्याजपीडितहरुको ‘न्याय मार्च’ टोली ६ वटा प्रदेश पार गरेर काठमाडौं आइपुगेको हो । ‘न्याय मार्च’ टोलीले कर्णालीबाहेक अरु सबै प्रदेश पैदल यात्रा गरेको छ । आज बिहान धादिङको थाक्रे गाउँपालिकाको सिम्लेबाट उनीहरु काठमाडौंका लागि हिँडेका थिए ।

माघ १६ गते झापा र कञ्चनपुरबाट एकैसाथ सुरु भएको मिटरब्याज पीडितहरूको न्याय मार्च संघीय राजधानी काठमाडौं आएर सरकारलाई आफ्नो आवाज सुनाउने तयारीमा छ ।

बिहानदेखि भोकभोकै धादिङबाट उकालो लागेका पीडितहरु आज चन्द्रागिरि नगरपालिकाको त्रिभुवन पार्कमा खाने-बस्ने तारतम्य मिलाए । त्यहाँबाट आगामी आन्दोलनको स्वरुपबारे थप छलफल गर्ने उनीहरुको तयारी छ । यसअघि पनि काठमाडौं आएर माग राखेको तर सरकारले आश्वासन दिएर पनि समस्या समाधान नभएको पीडितको गुनासो छ ।

यति लामो यात्रा गरी काठमाडौं आइपुग्दा पनि राज्यले चासो नदिएको आक्रोश उनीहरुमा छ । अब सरकारलाई लिखित माग नदिने तर आफ्ना समस्या समाधान नगरेसम्म घर नफर्किने मिटर ब्याजपीडितले बताएका छन् ।

चर्को ब्याजदरले आफूहरुको उठीबास लागेको, बुझाएको रकममा पनि ब्याज जोडेर साहुले झुक्याउँदै थप तमसुक बनाएको, बन्धकी राखेको जायजेथा फिर्ता नपाएको जस्ता माग राखेर २८ भन्दा धेरै जिल्लाका मिटरब्याजपीडितले आन्दोलन गर्दै आएका छन् ।

हेरौं थप तस्बिर...

यो पनि...

६ प्रदेश र सय पालिका छिचोल्दा पनि कसैले दिएन चासो

मिटरब्याजपीडित २३ दिनदेखि पैदल हिँडेरै काठमाडौं आइपुगे, भन्छन्- न्याय नपाएसम्म फिर्ता हुँदैनौं


Image

राजेन्द्र महर्जन

महर्जन कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।