मिटरब्याजपीडित २३ दिनदेखि पैदल हिँडेरै काठमाडौं आइपुगे, भन्छन्- न्याय नपाएसम्म फिर्ता हुँदैनौं

फाल्गुन ९, २०८० |कान्तिपुर टीभी संवाददाता
मिटरब्याजपीडित २३ दिनदेखि पैदल हिँडेरै काठमाडौं आइपुगे, भन्छन्- न्याय नपाएसम्म फिर्ता हुँदैनौं

काठमाडौं । न्याय खोज्न भन्दै देशभरबाट मिटरब्याजपीडित २३ दिन पैदल हिँडेर आज काठमाडौं प्रवेश गरेका छन् ।

मिटरब्याजपीडितहरुको ‘न्याय मार्च’ टोली ६ वटा प्रदेश पार गरेर काठमाडौं आइपुगेको हो । ‘न्याय मार्च’ टोलीले कर्णालीबाहेक अरु सबै प्रदेश पैदल यात्रा गरेको छ । आज बिहान धादिङको थाक्रे गाउँपालिकाको सिम्लेबाट उनीहरु काठमाडौंका लागि हिँडेका थिए ।

माघ १६ गते झापा र कञ्चनपुरबाट एकैसाथ सुरु भएको मिटरब्याज पीडितहरूको न्याय मार्च संघीय राजधानी काठमाडौं आएर सरकारलाई आफ्नो आवाज सुनाउने तयारीमा छ ।

बिहानदेखि भोकभोकै धादिङबाट उकालो लागेका पीडितहरु आज चन्द्रागिरि नगरपालिकाको त्रिभुवन पार्कमा खाने-बस्ने गर्दै छन् । त्यहाँबाट आगामी आन्दोलनको स्वरुपबारे थप छलफल गर्ने उनीहरुको तयारी छ । यसअघि पनि काठमाडौं आएर माग राखेको तर सरकारले आश्वासन दिएर पनि समस्या समाधान नभएको पीडितको गुनासो छ ।

यति लामो यात्रा गरी काठमाडौं आइपुग्दा पनि राज्यले चासो नदिएको आक्रोश उनीहरुमा छ । अब सरकारलाई लिखित माग नदिने तर आफ्ना समस्या समाधान नगरेसम्म घर नफर्किने मिटर ब्याजपीडितले बताएका छन् ।

चर्को ब्याजदरले आफूहरुको उठीबास लागेको, बुझाएको रकममा पनि ब्याज जोडेर साहुले झुक्याउँदै थप तमसुक बनाएको, बन्धकी राखेको जायजेथा फिर्ता नपाएको जस्ता माग राखेर २८ भन्दा धेरै जिल्लाका मिटरब्याजपीडितले आन्दोलन गर्दै आएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement