६ प्रदेश र सय पालिका छिचोल्दा पनि कसैले दिएन चासो, भन्छन्- माग पूरा नभए फर्किन्नौं

२३ दिनको कष्टकर पैदल यात्रापछि काठमाडौं आइपुगे मिटरब्याजपीडित
फाल्गुन ९, २०८० |जिल्ला ब्युरो
६ प्रदेश र सय पालिका छिचोल्दा पनि कसैले दिएन चासो, भन्छन्- माग पूरा नभए फर्किन्नौं

काठमाडौं । पूर्व मेची र पश्चिम महाकालीबाट एकैसाथ मिटरब्याज पीडितले न्यायमार्च सुरु गरे । झापाको काँकडभिट्टाबाट हिँडेको टोलीले चितवन हुँदै काठमाडौंसम्म आइपुग्दा ६ सय किलोमिटर र कञ्चनपुरको गड्डाचौकीबाट हिँडेको टोलीले काठमाडौंसम्म आइपुग्न सात सय किलोमिटरभन्दा लामो दूरी पैदलै तय गरेको छ । यसबीचमा उनीहरुले ६ वटा प्रदेश सरकार र एक सयभन्दा बढी स्थानीय सरकार छिचोलेका छन् ।

२३ दिन लगातार हिँडेका यी दुवै टोलीले ६ वटा प्रदेश सरकार र एक सयभन्दा बढी स्थानीय सरकार छिचोलेका छन् । तर बाटाभरी रहेका सरकारले उनीहरुको कुनै वास्ता गरेरनन् भने संघीय सरकारले पनि उनीहरुको समस्याको समाधान बाटैमा गर्न कुनै तदारुकता देखाएन । बरु केही ठाउँमा उनीहरूको न्याय मार्चमा अवरोध पुर्‍याउने प्रयास भयो । साँघुरा सडकको पैदलयात्रामा सवारीसाधनले ठोक्दा १८ जना पीडित घाइतेसमेत भए ।

उनीहरुले चिसो मौसममा कठ्यांग्रिँदै रात काट्नुपर्यो । बिरामी पर्दा सिटामोलसम्म मिलेन, खाना र पानीको अभावमा भोकभोकै रहनुपर्‍यो । महिलालाई शौचालय र स्यानिटरी प्याड नभएर समस्या भयो । हिँड्दाहिँड्दै पैतालामा ठेला परे । ‘साहुले एक करोड २० लाख भयो बोरामा हालेर तिर भन्छ, कसरी तिर्नु ?, महोत्तरीकी मिटरब्याजपीडित रामकली साह भन्छिन् ।

केही सामाजिक संस्था र मनकारी नागरिक अगुवाहरूले खाद्यान्न, पानी र आवासका लागि सार्वजनिक ठाउँसम्मको जोहो गरिदिए । ऋण लिएको रकमको दशगुणा बढी सम्मको कागज गराएको, भनेअनुसार साँवा-ब्याज चुक्ता गर्दा पनि घरखेत फिर्ता नगरेको, दृष्टिबन्धक भन्दै झुक्यानमा पारेर रजिस्ट्रेसन पास नै गरेको, उल्टै अदालतमा मुद्दा हालेर जग्गा हडपेर घरबारविहीन पारेको, महिलाहरूलाई साहुले यौनसम्बन्धका लागि दबाब दिने गरेको सम्मका तथ्यहरुलाई सरकारी प्रतिवदनले नै औंल्याएको छ ।

मिटरब्याजको समस्या तराई-मधेसका विपन्न समुदायमा बढी देखिएको छ जहाँका मानिसको शिक्षामा पहुँच छैन । बैंक वित्तीय संस्थाभन्दा गाउँघरमै साहु-महाजनबाट तमसुक बनाएर चर्को ब्याजमा ऋण लिनुपर्ने दुष्चक्रमा यस्तो समुदाय बढी फसेको छ । बढी ब्याज लिनेमाथि ठगी मुद्दा लाग्ने भए पनि पीडितको सूची बढ्दै गएको छ । सरकारको आहृवानपछि यस सम्बन्धमा २९ हजारजति उजुरी परेका छन् । तीमध्ये ५ हजारजतिको मात्रै किनारा लागेको छ । तर त्यो छिनाफानोपछि पनि पीडितहरूले न्याय पाएको महसुस गरेका छैनन् ।

यो पनि...

मिटरब्याजपीडित २३ दिनदेखि पैदल हिँडेरै काठमाडौं आइपुगे, भन्छन्- न्याय नपाएसम्म फिर्ता हुँदैनौं