काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान सम्मेलन सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहालले काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्मेलनको उद्घाटन गरेका छन् ।
तीन दिनसम्म चल्ने विधान सम्मेलनले पार्टीको विधान परिमार्जन गर्नेछ । स्थायी समितिले तयार पारेको विधान संशोधन मस्यौदामा माओवादीले तल्लो तहबाटसमेत सुझाव संकलन गरिसकेको छ ।
विधानमार्फत सांगठनिक संरचनामा केही परिवर्तन गर्न खोजिएको माओवादीले जनाएको छ । केन्द्रीय समितिको आकार घटाउने माओवादीको तयारी छ । उपाध्यक्ष पम्फा भुसाल संयोजक रहेको मस्यौदा विधान कार्यदलले विधानको मस्यौदा अध्यक्ष दाहाललाई बुझाइसकेको छ ।
कार्यदलले १९ सदस्यीय पदाधिकारीसहित १ सय ५१ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरेको छ । माओवादी केन्द्रको यो पहिलो विधान अधिवेशन हो ।