मेयरले स्वीकारे २ श्रीमती, कान्छीले हालिन् अंश मुद्दा

माघ २८, २०८० |उपेन्द्र ठाकुर
मेयरले स्वीकारे २ श्रीमती, कान्छीले हालिन् अंश मुद्दा

पर्सा । वीरगन्जका मेयर राजेशमान सिंहले आफ्नो दुईवटा श्रीमती भएको स्वीकारेलगत्तै कान्छी श्रीमती भनिएकी रीता भट्टराईले उनीविरुद्ध अंश र सम्बन्धविच्छेद (डिभोर्स) को मुद्दा दायर गरेकी छिन् ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० की रीताले आइतबार जिल्ला अदालत पर्सामा वीरगन्जका मेयर सिंहविरुद्ध अंश र सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएकी हुन् । अदालतमा उनले पेस गरेको फिरादपत्रमा मेयर सिंहसँग आफूले प्रेम विवाह गरेको तर सो कुरा सार्वजनिक रुपमा बाहिर नदेखाएको दाबी गरिएको छ ।

आफ्नो शरीरबाट जन्मेकी छोरी रुबिनाको बाबु बनेर सम्पूर्ण भरणपोषण तथा सरकारी कागजात सिंहले नै बनाइदिएको र सोही आधारमा आफू उनको पत्नी भएको तथ्य स्थापित हुने भट्टराईको फिरादपत्रमा दाबी गरिएको छ । ‘प्रतिवादी राजेशमान सिंहको प्रकाशमा आएको पत्नी अन्नपूर्ण नै हुन् । म फिरादीले सिंहसँग प्रेम विवाह गरेको कारण प्रकाशमा नल्याए पनि मेरो शरीरबाट जन्मेकी छोरी रुबिना श्रेष्ठको जन्मदर्ता, शैक्षिक प्रमाण पत्र एवं नागरिकता मेयर सिंहले नै बनाई दिएकाले पनि म निजकै पत्नी भएको तथ्य स्थापित हुन्छ,’ दायर मुद्दामा उल्लेख छ ।

मुलुकी देवानी संहित २०७४ को दफा ७४ मा कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिलाबीच स्वत: विवाह भएको मानिने उल्लेख छ । अतः स्थापित कानुनअनुसार ‘प्रतिवादी राजेशमान सिंह मेरो पति भएको पुष्टि हुन्छ’ भन्ने कुरा भट्टराईको फिराद पत्रमा उल्लेख गरिएको छ ।

अर्काको छोरीलाई आफ्नो छोरी बनाएर नागरिकता दिलाएको भन्दै मेयर सिंहविरुद्ध परेको उजुरी सम्बन्धमा अनुसन्धान गर्न वीरगन्ज पुगेको गृह मन्त्रालयको छानबिन समितिसँग मेयर सिंहले रीता भट्टराई आफ्नो कान्छी श्रीमती भएको स्वीकारेका थिए ।

यो पनि...

मेयरले अर्कैको छोरीलाई आफ्नो बनाएर नागरिकता दिँदा...

नागरिकता विवादबारे वीरगन्जका मेयरले भने- रुबिना मेरै छोरी हुन्, मेरा दुई श्रीमती छन्

वीरगन्जका मेयर मुछिएको नागरिकता विवादमा किन भएको थियो पक्ष र विपक्षमा प्रदर्शन ? 

हेर्नुहोस् भिडियो :-


Image

उपेन्द्र ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका पर्सा संवाददाता हुन् ।