सर्लाही ल्याइएका रामबहादुर बम्जनविरुद्ध सुनुवाइ सुरु

पुस २६, २०८० |ओमप्रकाश ठाकुर
सर्लाही ल्याइएका रामबहादुर बम्जनविरुद्ध सुनुवाइ सुरु

सर्लाही । काठमाडौंबाट प्रहरी नियन्त्रणमा परेका लिटिल बुद्धको नामले चिनिएका रामबहादुर बम्जनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीबार सरकारी वकिल कार्यालयमा उपस्थित गराएर जिल्ला अदालतमा पेस गरेको छ । उनीविरुद्ध जिल्ला अदालतमा यौन तथा बाल यौन शोषणको आरोपमा मुद्दा परेको थियो ।

जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो । उक्त अदालतमा न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरुद्ध मुद्दाको सुनुवाइ सुरु भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।

हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मंगलबार पक्राउ गरेको थियो ।

काठमाडौंबाट स्थलमार्ग भएर सर्लाही ल्याइएका अभियुक्त बम्जनलाई प्रहरीले सरकारी वकिलको कार्यालय लगेको थियो । त्यहाँ आवश्यक प्रक्रिया पुरा गरी बम्जनलाई जिल्ला अदालतमा पेस गरिएको हो । जिल्ला अदालतमा गोलाप्रथाबाट गरिएको मुद्दा छनोटमा उनको मुद्दा न्यायधीश विष्णुप्रसाद रेग्मीको इजलासमा परेको छ। उनको बयानपछि सुनुवाईको काम भइरहेको छ । बम्जनविरुद्ध १२ देखि १४ वर्षसम्म सजायको माग दाबी गरी सुनुवाइ भइरहेको हो । उनलाई थुना, तारेख वा धरौटीमा राखेर मुद्दाको थुनछेक आदेश न्यायधीशले दिने छन् ।

सर्लाहीको पत्थरकोटस्थित आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबरजस्ती करणी गरेको आरोप लगाउँदै तपस्वी बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा परेको थियो । २०७३ साल साउन २० गते राति ९ बजेर २० मिनेटको समयमा आश्रमस्थलमै आनी बनेर बसेकी एक बालिकालाई विभिन्न किसिमको प्रलोभन देखाई सुत्ने कोठामा जबर्जस्ती करणी गरी यौन सन्तुष्टि लिएको र पीडितलाई डर, धाक, धम्की देखाइएको दायर मुद्दामा उल्लेख छ । घटना घटेको बेला पीडित बालिका १५ वर्षकी मात्र थिइन् । उनी १८ वर्षकी भएपछि २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

प्रहरीले अदालतको अनुमति लिएर प्रतिवादी बम्जनलाई पक्राउ गर्न भनिए पनि उनी फरार रहेकाले पक्राउ पर्न सकेका थिएनन् ।

बालबालिका सम्बन्धी ऐन २०७५ को ६६ को ३ मा यौन सन्तुष्टि प्राप्त गर्न बालबालिकालाई प्रयोग गर्ने गराउने, बाल यौन शोषण गर्ने गराउने कसुर गर्‍यो भने दफा ७२ को ३ को ६ ले प्रचलित कानुन बमोजिम जबर्जस्ती करणीको कसुरमा कसुरदारलाई सजाय हुने व्यवस्था उल्लेख छ। त्यही बमोजिम मौलिक अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ को (ग) बमोजिम १४ वर्षभन्दा बढी र १६ वर्षभन्दा कम उमेरको बालिका भए १२ देखि १४ वर्षसम्म कैदको माग दाबीसहित मुद्दा परेको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार...

रामबहादुर बम्जनको घरमा प्रहरीको छापा, तीन करोडभन्दा बढी रकम बरामद

तपस्वी भनेर चिनिएका रामबहादुर बम्जनमाथि ४ अनुयायी बेपत्ता र बालयौन दुराचारको आरोप

बूढानीलकण्ठबाट रामबहादुर बम्जन पक्राउ


Image

ओमप्रकाश ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका सर्लाही संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement