काठमाडौ । अहिले देशमा एमाले नेतृत्वको सरकार छ । सामान्यत: सत्तामा रहेको दलले जनतालाई सेवा प्रवाह गरेर विश्वास जित्न सक्नुपर्ने हो । सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि बढ्दो छ । तर एमालेले काम गरेर जनताको विश्वास जित्नुपर्नेमा सडकमा कार्यकर्ता उतारेर शक्ति प्रदर्शनतर्फ उद्यत छ ।
नेकपा एमालेले ४० वर्षमुनिका १ लाख युवा उतार्ने दाबीसहित लोकतन्त्रले जितेको दिन भन्दै बिहीबार काठमाडौंमा शक्ति प्रदर्शन गर्यो । एमालेले भृकुटीमण्डपमा नाचगानसहित युवा लक्षित कार्यक्रम गरेको हो । अर्थात् एमालेले युवाको लहर आफ्नो पार्टीमा बढेको देखाउन खोजेको हो । कार्यक्रमको उपस्थिति र स्वरूप जस्तोसुकै भए पनि यो एमालेले गरेको शक्ति प्रदर्शन नै हो । सरकारको नेतृत्व गरिरहेको दलले सरकारमार्फत नै जनताको विश्वास जित्नुपर्नेमा सडकमा शक्ति प्रदर्शन किन गर्यो ?
एमालेले आफू सरकारमै हुँदा सडकमै उत्रिएर गरेको यो पहिलो शक्ति प्रदर्शन भने होइन । गत मंसिर ७ गते काठमाडौंको दरबारमार्गमा जागरण सभा भन्दै कार्यक्रम गर्यो । त्यो कार्यक्रममा प्रधानमन्त्री ओली स्वयं उपस्थिति हुनुभएको थियो । त्यस्तै असोज ३ गते संविधान दिवसको अवसर पारेर नेशनल डे कन्सर्ट गर्यो । यस्तै महासचिव शंकर पोखरेल नेतृत्वमा काठमाडौंमै उसले मोटरसाइकल र्याली पनि गर्यो । यी सबै कार्यक्रममार्फत एमालेले शक्ति प्रदर्शन गरेको हो । कहिले लोकतन्त्र दिवसका नाममा त कहिले व्यवस्थामाथि प्रश्न उठाउनेहरूका विरुद्धमा एमालेले सडकमा आएर शक्ति प्रदर्शन गर्ने गरेको छ ।
नेपाली कांग्रेसको सहयोगमा एमाले नेतृत्वको सरकार गठन भएको साढे ९ महिना पुगिसकेको छ । यसबीचमा सरकारले युवालक्षित कुनै पनि कार्यक्रम ल्याउन सकेको छैन । बरु युवाहरूबाटै सरकारको आलोचना भइरहेको छ । सबैभन्दा आजित त अहिले १२ कक्षाका विद्यार्थी छन् । शिक्षक र कर्मचारीदेखि चिकित्सकहरूसम्म विभिन्न माग राखेर सडकमा छन् । उनीहरूका उचित माग सम्बोधन गर्ने जिम्मेवारी एमाले नेतृत्वको सरकारको काँधमा छ । तर एमाले पार्टी पंक्ति देशका समस्या समाधान गर्न सरकारलाई दबाब दिनुपर्नेमा विभिन्न बहानामा सडकमा शक्ति प्रदर्शनको होडमा छ ।
सरकारमा रहेका बेला विपक्षी दलले जस्तो सडकमा आउनु गलत भएको टिप्पणी भइरहेको छ ।
विपक्षी दलहरूले सडकमा शक्ति प्रदर्शन गर्नु स्वाभाविक नै होला । तर अहिले सरकारको नेतृत्वमा एमाले छ अनि सडकमा पनि । सरकारमा हुँदा जनताका काम फटाफट गरेर विश्वास जित्नुपर्नेमा सडकमा उत्रिएर शक्ति प्रदर्शन गर्नु कति उचित हो भन्ने बहस भइरहेको छ ।