संसद्को बजेट अधिवेशन भोलिबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

वैशाख ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
संसद्को बजेट अधिवेशन भोलिबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन भोलि सुरु हुँदैछ । बजेट अधिवेशनबारे दलहरूले पनि आआफ्नो रणनीति बनाएका छन् ।

संसद्‍‍को दुवै सदनको अधिवेशन भोलि दिउँसो १ बजेका लागि बोलाइएको हो । भोलिको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएको छ । यो बजेट अधिवेशन भए पनि सरकारले शिक्षा विधेयक यही अधिवेशनमा पेश गर्ने प्रतिबद्धता जनाएको छ । दलहरूले पनि बर्खे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे आआफ्नो तयारी गरेका छन् ।

प्रमुख प्रतिपक्ष माओवादी केन्द्रले बजेट अधिवेशनमा सशक्त भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । आज बसेको माओवादी संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नीति तथा कार्यक्रम र प्रि बजेट छलफलमा जनताका आवाजलाई समेटन दबाब दिने गरी भूमिका खेल्न निर्देशन दिनुभएको थियो ।

बैठकले विद्यालय शिक्षा विधेयक अघि बढाउन दबाब दिने निर्णय पनि गरेको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले देश र जनताको हितमा संसद्‌मा प्रभावकारी भूमिका खेल्ने र बजेट अधिवेशनको छलफलमा सशक्त भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

बजेट अधिवेशनको पहिलो दिन भोलि नेपाली कांग्रेसका तर्फबाट प्रमुख सचेतक श्याम घिमिरेले संसदमा सम्बोधन गर्नुहुनेछ भने नेकपा एमालेको तर्फबाट गोकर्ण विष्टले संसद्‌मा पार्टीको तर्फबाट धारणा राख्नु हुनेछ ।

प्रधानमन्त्री ओलीले बजेट अधिवेशनको सुरुमै बोल्ने कार्यसूची तय भए पनि विपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्नो निर्वाचन क्षेत्र गोरखा पुग्नुभएकाले कसले बोल्ने भन्ने टुङ्गो लागेको छैन । रास्वपाले भोलिको संसद बैठकमा डीपी आर्यालले सम्बोधन गर्ने तय गरिसकेको छ ।

भोलिको बजेट अधिवेशनको पहिलो बैठकमा शून्य र विशेष समयको कार्यसूची राखिएको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.