जम्मु-कश्मीरमा आतंककारी आक्रमणपछि भारत-पाकिस्तान तनावपूर्ण सम्बन्ध उत्कर्षमा

दुवै मुलुकद्वारा सीमा बन्ददेखि व्यापार निलम्बनसम्मका घोषणा
दोषीलाई कारबाही गरेरै छाड्ने मोदीको प्रतिबद्धता
वैशाख ११, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
जम्मु-कश्मीरमा आतंककारी आक्रमणपछि भारत-पाकिस्तान तनावपूर्ण सम्बन्ध उत्कर्षमा

काठमाडौं । जम्मु-कश्मीरको पहलगाममा २६ जनाको ज्यान लिने गरी भएको आतंककारी आक्रमणपछि भारत र पाकिस्तानबीचको सम्बन्धमा चरम तनाव सिर्जना भएको छ । दुई देशबीचको तनावले क्षेत्रीय शान्ति नै खलबलिन सक्ने आशंका जन्माएको छ ।

आतंककारी आक्रमणमा पाकिस्तानको सहयोग रहेको निष्कर्षका साथ भारतले पाकिस्तानी सैन्य कूटनीतिज्ञलाई देश निकाला गर्ने, मुख्य सीमानाका बन्द गर्ने र सिन्धु जलसन्धि स्थगित गर्ने लगायतका निर्णय गरेकोमा पाकिस्तानले पनि प्रतिकारात्मक निर्णयहरू गरेको छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफको नेतृत्वमा आज बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले द्विपक्षीय सम्झौतालाई निलम्बन गर्ने, हवाई क्षेत्र र स्थल सीमाबन्द गर्ने र दुई देशीय व्यापार निलम्बन गर्ने निर्णय गरेको छ ।

बैठकले सिन्धु नदीको जलसन्धि निलम्बित गर्ने भारतको निर्णयलाई अस्वीकार गर्दै सन्धि अनुसार पाकिस्तानको भागमा पर्ने जलको प्रवाह रोक्ने वा यसको दिशा परिवर्तन गर्ने कुनै पनि प्रयासलाई युद्धको कारबाहीसरह मान्ने र त्यसको पूर्ण शक्तिका साथ जवाफ दिइने चेतावनी दिएको छ । उक्त सन्धि अन्तर्राष्ट्रिय सन्धि भएको र ६ दशक पुरानो उक्त सन्धिलाई भारत एक्लैले निलम्बित गर्न नसक्ने निष्कर्ष समेत उक्त बैठकले निकालेको छ । 

बैठकले बाघा बोर्डर बन्द गर्ने निर्णय गर्नुका साथै पाकिस्तानमा रहेका भारतीय नागरिकलाई ४८ घण्टाभित्र देश छाडन आदेश दिएको छ ।

यता भारतीय विदेश मन्त्रालयले आज थप प्रतिकारात्मक कदम चाल्दै पाकिस्तानी नागरिकका लागि दिइएको मेडिकल लगायतका सबैप्रकारका भिसा रद्द गर्ने र नयाँ भिसा सेवा स्थगित गर्ने लगायतका निर्णय गरेको छ । निर्णय अनुसार पाकिस्तानी नागरिकलाई प्राप्त मेडिकल बाहेकका सबै प्रकारका भिसा आगामी आइतबारदेखि र मेडिकल भिसा अप्रिल २९ देखि रद्द हुने जनाइएको छ । 

विदेश मन्त्रालयले भारतमा रहेका पाकिस्तानीलाई भिसा रद्द हुनु अगावै देश छाडन आदेश समेत दिएको छ ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले पहलगाम आक्रमणका दोषीलाई धरतीको अन्तिम कुनासम्म पुगेर भए पनि कारबाही गरेरै छाड्ने दृढता व्यक्त गर्नुभएको छ । मोदीको यो दृढताले सन् २०१६ मा उरी र २०१९ मा पुलवामामा भएका आतंककारी आक्रमणपछि भारतले पाकिस्तानमा गरेको सर्जिकल स्ट्राइकको सम्झना गराएको टिप्पणी अन्तर्राष्ट्रिय समाचारमाध्यमले गरेका छन् ।