
सिरहा । सिरहाको गोलबजारस्थित तस्करीका सामान भण्डारण गरिएको एक गोदाममा प्रहरी र भन्सारले छापा हानेको छ । गोलबजारको माँ धमिनी डेरी उद्योगमा बिहीबार साँझ नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयले संयुक्त रूपमा छापा हानेको हो ।
प्रहरीका अनुसार गोदाममा भारतबाट ल्याइएका पाउडर दूध र चिनी लगायतका अवैध सामान भेटिएका छन् । तर, गोदाममा छापा हान्ने क्रममा तस्कर गिरोहले मान्छे लगाएर हुलदंगा गर्न खोजेपछि गोदाम सिल गरेर प्रहरी र भन्सारको टोली फर्केको छ ।
गोदाममा भेटिएका सामानको परिमाण र मूल्य भने शुक्रबार मात्रै यकिन हुने जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले बताउनुभयो । आन्तरिक राजस्व कार्यालय, लहानको टोली पनि शुक्रबार त्यहाँ पुग्ने र त्यसपछि कानुनी कारबाही प्रक्रिया अगाडि बढ्ने उहाँले बताउनुभयो ।
प्रहरीलाई यसबारे सूचना दिने स्रोतका अनुसार, तस्कर गिरोहले संगठित रूपमै सम्बद्ध निकायको मिलेमतोमा पाउडर दूध, चिनी लगायतका खाद्यवस्तु भारतबाट तस्करी गरी ल्याएर यो गोदाममा भण्डार गर्ने र राति दूधको ट्यांकरमा काठमाडौं लगायतका शहरमा लाने गरेका छन् ।