एन्फाको विरोधमा क्लबहरू, प्रतियोगिता रद्द

वैशाख ११, २०८२ |विनयज्योति सापकोटा
एन्फाको विरोधमा क्लबहरू, प्रतियोगिता रद्द

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यही वैशाख २० गतेदेखि गर्ने भनेको लिगकम नकआउट फुटबल प्रतियोगिता रद्द भएको छ । सहभागी हुनपर्नेमध्ये नौ वटा क्लबले प्रतियोगिता बहिस्कार गर्ने घोषणा गरेपछि प्रतियोगिता रद्द भयो । एन्फाले आधिकारिक घोषणा त गरेको छैन तर उसले क्लबहरूलाई प्रतियोगिता रद्द भएको पत्र पठाएको छ । 

प्रतियोगिताको विजेतालाई एएफसी कप क्वालिफायरमा सहभागी गराउने भनिएकोमा एन्फाले नियतवश एउटा क्लबलाई एएफसी कपमा पठाउने गरी प्रतियोगिता गराउन लागेको भन्दै क्लबहरूले विरोध गरेका थिए । यससँगै अब नेपाली टिम एएफसी कपमा सहभागी बन्न नपाउने भएको छ । नेपाली फुटबलमा यस्तो अवस्थाको सिर्जना कसरी भयो त ?

नेपालको ‘ए’ डिभिजन फुटबल लिग विजेता क्लबले एएफसी कपको प्रारम्भिक चरण खेल्न पाउँछ । त्यसका लागि क्लब लाइसेन्स चाहिन्छ, जुन एएफसीले दिने गर्दछ । नेपाली क्लबहरूले त्यो पालना गर्न सक्दैनन् । तर दशरथ रंगशालालाई आफ्नो मैदान देखाएर क्लबलाई एएफसी कपमा पठाउने चलन छ । गत वर्ष लिग नै आयोजना भएन । 

अहिलेको अवस्थामा एएफसी कपमा पठाउने टम पनि एन्फासँग छैन । यसअघिको लिग विजेता चर्च बोइजलाई सहभागी गराउन खोज्दा एसियाली फुटबल महासंघले अस्वीकार गरिदिएको थियो । त्यसपछि एन्फाले ‘ए’ डिभिजन क्लब सहभागी गराएर नकआउट प्रतियोगिता गराउने र विजेतालाई एफसी कपमा पठाउने निर्णय गरेको हो । 

तर शीर्ष डिभिजनका त्रिभुवन आर्मी क्लब, एपीएफ, पुलिस क्लब र संकटाले मात्रै नकआउट खेल्न क्लब दर्ता गराएका छन् । बाँकी सबै क्लबले यो प्रतियोगिता बहिस्कार गरेका छन् ।

यो प्रतियोगिता एएफसी कप खेल्न बाध्यात्मक छ । तर न एन्फाले विशेष चासो राख्यो न क्लबले नै । प्रतियोगिता सुरु हुन ९ दिन मात्रै बाँकी छ । यस्तोमा कमजोर तयारी गरेर नखेल्ने अडान क्लबहरूको छ । त्यसैगरी विदेशी खेलाडी अनुबन्ध गर्ने समय नभएको र एएफसी कपमा जाने मापदण्ड पूरा गर्ने समय पनि नभएकाले एन्फाले अवैधानिक रूपमा प्रतियोगिता गर्न लागेको क्लबहरूको आरोप छ ।

घरेलु प्रतियोगिता गराउन एएफसीबाट ठूलो रकम आउँछ । त्यो ठूलो रकम खर्चका नाममा सानो प्रतियोगिता गराएर बाँकी रकम अपचलन गर्न खोजिएको क्लबहरूको आशंका छ । ‘ए’ डिभिजनबाट रेलिगेसनमा परेका खुमलटारले नकआउट प्रतियोगिता नखेल्ने बताउँदा एपीएफ भने खेल्न तयार छ । तर सातदोबाटो, चर्च बोइज, मनाङ मर्स्याङ्दी, मच्छिन्द्र, फ्रेन्ड्स हिमालयन शेर्पा र थ्री स्टार क्लब भने लामो लिग नै गराउनुपर्ने अडानमा छन् । 

उनीहरूले पछिल्लो समय नियमित बैठक गरिरहेका छन् । यता एन्फा कम्तीमा ८ क्लब सहभागी भए एन्फा लिग गराउने पक्षमा छ । तर लिग खेल्न क्लबहरू नै नमान्दा एन्फा अप्ठ्यारोमा परेको छ । एन्फा पदाधिकारीहरू यसबारे प्रतिक्रिया दिनै अस्वीकार गर्दै आएका छन् ।

प्रतियोगिता हुनु राम्रो हो । तर, एएफसी लाइसेन्स नहुने क्लबलाई यो प्रतियोगिताको अर्थ छैन । तर क्लबको अन्तर्राष्ट्रिय प्रतियोगितामै सहभागी गराउन नसक्नुले नेपाली फुटबल सही बाटोमा छैन भन्ने देखिन्छ । यस्तोमा एन्फाले सबै क्लबलाई सहभागी गराउन पहल गर्नुपर्ने थियो । 

एन्फाले विजेता क्लबलाई एएफसी कप खेल्ने वातावरण निश्चित गर्न सक्नुपर्थ्यो । जुन उसले गर्न सकेन । यो नेपाली फुटबलकै लागि ठूलो क्षति हो ।


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।