तपस्वी भनेर चिनिएका रामबहादुर बम्जनमाथि ४ अनुयायी बेपत्ता र बालयौन दुराचारको आरोप

३ करोड ३४ लाख रुपैयाँ घरबाटै बरामद
सर्लाही अदालतमा उपस्थित गराइने
पुस २५, २०८० |रमेश धमला
तपस्वी भनेर चिनिएका रामबहादुर बम्जनमाथि ४ अनुयायी बेपत्ता र बालयौन दुराचारको आरोप

काठमाडौं । २०६३ सालमा बारामा एक बाल तपस्वी देखिए । लिटिलबुद्धको उपमा पाएका रामलाल अर्थात् रामबहादुर बम्जन त्यस बेला सबैतिर चर्चामा मात्र आएनन् धेरैले धेरैको आस्थाको केन्द्र पनि बने । उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको समेत ध्यान खिचे । तर तिनै तपस्वीमाथि बाल यौनदुराचारको आरोप लाग्यो भने उनका आश्रमबाट अनुयायीहरू बेपत्ता पारिए । जघन्य अपराधका आरोप लागेपछि चार वर्षदेखि बेपत्ता उनै बम्जनको हातमा अहिले हतकडी लागेको छ । 

सेतो ज्याकेट लामो कपाल । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हतकडी लगाएर रामबहादुर बम्जनलाई सार्वजनिक गर्न निकाल्यो । यी तिनै व्यक्ति हुन् जो २०६३ सालमा १४ वर्षको उमेरमा घरबाट बेपत्ता भए । बाराको रतनपुरीस्थित एक पीपलको रुखमुनी तपस्यामा भेटिएपछि उनको नाम लिटलबुद्धको नाममा यति चर्चित भयो कि धेरैका लागि आस्था नै बने । तर तिनै आस्थाभित्र लुकेको आपराधिक मानसिकताले अहिले उनको हातमा हतकडी लगाएको छ । बम्जनका बारा र  सिन्धुलीमा आश्रम छन् । बुद्धत्वका लागि भन्दै उनका आश्रममा अनुयायीहरू जान थाले ।

सिन्धुलीस्थित बाडेगाउको आश्रममा पुगेकी थिइन् नुवाकोटकी चुन्मो भन्ने चिनीमाया तामाङ । उनै चिनीमाया २०६९ असोजदेखि बेपत्ता छिन् । बम्जनको आश्रमबाट अनुयायीहरू हराउने क्रम यतिमै रोकिएन । मकवानपुरको हेटौँडाका ५१ वर्षीय सञ्चलाल वाइबा पनि २०७१ साल चैत १४ गतेदेखि बम्जनकै आश्रमबाट बेपत्ता भए । उनको अहिले पनि पत्तो छैन ।

प्रहरीका अनुसार बम्जनको आश्रमबाटै अन्य थप दुई अनुयायी पनि गायब छन् । बारा सिमराकै २४ वर्षीय सुरेशकुमार आले पनि २०७२ जेठदेखि परिवारको सम्पर्कमा छैनन् । २०७१ माघदेखि मकवानपुरकै डोल्मो भन्ने फुलमाया रुम्बाको पनि कुनै अत्तोपत्तो छैन ।

बम्जनको आश्रम पुगेका बेपत्ता हुनेहरू कति हुन यकिन छैन । उनीमाथि लागेको अपराधको आरोप त्यतिमा मात्रै सीमित छैन । सर्लाहीमा बालयौन दुराचारको अभियोग छ । सबैतिर अपराधको आरोप लागेपछि प्रहरीले २०७६ सालदेखि बम्जनको आश्रममा खोजी गर्‍यो । तर भेटिएनन् । सिन्धुलीको आश्रममा उनले गायब पारेकाहरू मारिएको आशंकामा कुकुर लगाएर समेत अनुसन्धान भयो ।

सर्लाहीमा त अदालतले पक्राउ पुर्जी नै जारी गर्‍यो । तर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनको निगरानी छोडेको थिएन । अन्ततः अपरेशन ब्लुले बुढानीलकण्ठबाट हतकडी लगायो ।

करिब दुई महिनादेखि बम्जन बुढानीलकण्ठस्थित यो घरमा आएर बसेको सूचना सीआईबीसँग थियो । तर हो कि होइन यकिन गर्न समय लाग्यो । त्यसका लागि बम्जनकै अनुयायी भित्रै सीआईबीले सुराकी परिचालन गरेका थियो ।

मंगलबार सीआईबीले अन्तिम छापा हानेर बम्जनलाई पक्राउ गर्दा उनको साथमा भेटिएको पैसाले अर्को अपराधको आशंका गराएको छ । ३ करोड ३ लाख नेपाली र ३० लाख नेपाली रुपैयाँ बराबरको १६ देशका विदेशी मुद्रा कहाँबाट आयो ? सीआईबीले अनुसन्धान अगाडी बढाउने छ ।

बम्जनलाई बाल यौनदुराचारको अभियोगमा कारबाहीका लागि सर्लाही लगिएको छ । यता सीआईबीले उनको आश्रमबाट बेपत्ता भएकाहरू र अन्य अपराधको अनुसन्धान अगाडि बढाएको छ ।

सम्बन्धित समाचार...

सीआईबीद्वारा बम्जन सार्वजनिक, ३ करोड नगदै बरामद (तस्बिरसहित)


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।