पशुपतिनाथमा शतबीज छर्ने भक्तजनको घुइँचो (तस्बिरहरू)

मंसिर २५, २०८० |मुरारी घिमिरे
पशुपतिनाथमा शतबीज छर्ने भक्तजनको घुइँचो (तस्बिरहरू)

काठमाडौं । आज मार्गशीर्षकृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशी । पितृको सम्झनामा आज पशुपतिनाथ परिसरसहित देशभरका शिवालयमा शतबीज छर्ने गरिन्छ ।

अघिल्लो दिन साँझ दीपदान गरी रातभर भजनकीर्तन गरेर जाग्राम बस्ने र आज बिहानै दिवङ्गत पितृको सम्झनामा शतबीज छर्ने प्रचलन छ । पशुपतिनाथ मन्दिर परिसरमा आज बिहान झिसमिसेदेखि नै शतबीज छर्नेको घुइँचो छ ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

शतबीजमा धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गर्ने प्रचलन छ।

हिजो रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँदै छन्। प्रत्येक वर्ष बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउने गर्छन् ।

पशुपतिनाथ आउन नसक्ने भक्तजनले घर नजिकैको शिवालयमा आज बिहान शतबीज छर्ने चलन छ ।

जाडोको मौसम भएकाले रातभर बस्ने भक्तजनलाई पाललगायत व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले ढुङ्गा छापेका स्थानमा शतबीज नछर्न पनि उनले अनुरोध गरेको छ।

बागमती किनारको मृगस्थलीमा भगवान् शिवले मृगरूप धारण गरेको थाहा पाई पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई चिन्न सकेको धार्मिक किम्वदन्ती छ ।

हेर्नुहोस् भिडियो


Image

मुरारी घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।