मनका धनी मुक्त कमैयाहरू

मंसिर १७, २०८० |सविता जीसी|जे पाण्डे
मनका धनी मुक्त कमैयाहरू

नेपालगन्ज । एक छाक भए पनि मिठो खान कसलाई मन लाग्दैन र ? बर्दियाको ठाँडाफाटाका मुक्त कमैया तथा भूमिहीन सुकुम्वासीहरू मिठो खाने रहर पूरा गर्न पोखरीमा माछा मार्दै थिए । किनेर खान सक्ने क्षमता छैन । मारेका माछा सबैले बराबरी भाग लगाए । जेनतेन एक छाक त टर्‍यो । 

भोलि के खाने ? समस्या ज्यूका त्युँ छ । त्यसमाथि पनि बस्ने स्थायी घरबास र जग्गा जमिन छैन । विकल्प नहुँदा उनीहरू २३ वर्षदेखि यो जङ्गलमा बस्दै आएका छन् । सरकारले यो जमिनको जग्गा धनीपुर्जा दिएको छैन । 

यहाँका ६४ घरपरिवार हात्ती र बाघजस्ता हिंस्रक वन्यजन्तुबाट असुरक्षित भएर कहिलेसम्म जङ्गलमा बस्ने ? चिन्तामा छन् । छोराछोरी पढाउन सबै मिलेर एउटा सानो बालसुधार केन्द्र सञ्चालन गरेका छन् । बालबालिका यही केन्द्रमा अक्षर चिन्न जान्छन् ।

यहाँका मुक्त कमैयाहरूले जङ्गल छेउको सरकारी जमिनमा सामूहिक खेती गर्छन् । उत्पादन भएको अनाज बिक्रीबाट आएको केही रकम बाल विकास केन्द्रलाई पनि दिन्छन् । बचेको रुपैयाँ समूहका साथीलाई समस्या पर्दा सहयोग गर्छन् ।

आर्थिक रूपले विपन्न भए पनि बस्तीमा शिक्षा, स्वास्थ्यजस्ता आधारभूत कुरामा सहयोग पुर्‍याउन होस् वा समस्या पर्दा एकले अर्कालाई सघाउने भावनाबाट ओतप्रोत छन् ।

बर्दियाको घना जंगल छेउको ठाँडाफाँटा बस्तीका यी मुक्तकमैया २३ वर्षदेखि के खाने, कहाँ बस्ने अनि हिंस्रक जंगली जनावरबाट कसरी ज्यान जोगाउने ? भन्ने संकटमा छन् । कमैया मुक्ति भए पनि सरकारले घर बनाउने जमिन नदिँदा जोखिमपूर्ण जीवनयापन गरिरहेका उनीहरु सामूहिक खेती गर्छन् ।

उत्पादन भएको अन्न बिक्री गरि समस्यामा परेका विपन्नलाई सहयोग गर्नुका साथै आफ्ना बालबालिकालाई अक्षर चिनाउन बालविकास केन्द्र सञ्चालनमा सहयोग गरेर गरिब भए पनि धनी मनको उदाहरण यी मुक्त कमैयाहरुले प्रस्तुत गरेका छन् ।


Image

सविता जीसी

जीसी बाँकेस्थित कान्तिपुर टेलिभिजनकी क्यामेरा पर्सन हुन् ।

Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।