नेपालमा बढ्दो वायु प्रदूषण न्यूनीकरण गर्न वातावरणमैत्री पूर्वाधार विकासमा जोड

संवेदनशील क्षेत्र पहिचानदेखि नियमित अनुगमन र नियन्त्रणको प्रस्तावसहितको मस्यौदा तयार
वैशाख २६, २०८२ |विकास आचार्य
नेपालमा बढ्दो वायु प्रदूषण न्यूनीकरण गर्न वातावरणमैत्री पूर्वाधार विकासमा जोड

काठमाडौं । नेपालमा बर्सेनि हिउँदका बेला वायु प्रदूषणको तह अत्यन्त खराब तहमा पुग्ने गर्छ । वायु प्रदूषण न्यूनीकरण गर्न काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना-२०७६ कार्यान्वयनमा रहे पनि राष्ट्रियस्तरमा कुनै कार्ययोजना छैन । 

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको मस्यौदा अहिले छलफलमा छ । वायु प्रदूषण न्यूनीकरण गर्न के-के उपाय सुझाइएको छ त प्राधिकरणले तयार पारेको मस्यौदामा ?

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको वायु प्रदूषणजन्य विपद् जोखिम व्यवस्थापन राष्ट्रिय कार्ययोजनामा वायु प्रदूषण संवेदनशील र अतिसंवेदनशील क्षेत्र पहिचान गर्नेदेखि कलकारखाना र सवारी साधनबाट निस्कने धुँवा-धुलोको नियमित अनुगमन गरी नियन्त्रण गर्नेसम्म उल्लेख छ । 

सँगै सडक, शहरी तथा औद्योगिक क्षेत्र तथा नाङ्गो डाँडामा हरियाली बढाउने, पूर्वाधार निर्माण वातावरणमैत्री बनाउने तथा उर्जा किफायती चुल्होको प्रयोग बढाउने कार्यक्रम पनि समेटिएका छन । 

विद्युतीय फोहोर जलाउनेलाई दण्डित गर्ने, वायु प्रदूषण संवेदनशील क्षेत्रमा पुराना गाडी चलाउन प्रतिबन्ध लगाउने, डढेलो नियन्त्रणसम्वन्धी संयन्त्रको व्यवस्था, विद्युतीय सवारी साधनलाई प्रोत्साहन, कृषि अवशेष जलन कार्य रोकथामका लागि विशिष्ट कार्ययोजना लागू गर्ने सरकारको तयारी छ ।

नेपालले बर्सेनि आन्तरिक र वाह्य कारणले वायु प्रदूषणको सामना गर्नुपरेको छ । २०८१ मा दुई पटक माघ र फागुन-चैतमा वायु प्रदूषण उच्च रह्यो । जसले गर्दा जनजीवन कष्टकरमात्रै बनेन, अस्पतालमा बिरामी पनि बढे । 

अर्कोतर्फ ५ वर्ष अघि बनाइएको कार्ययोजना कार्यान्वयन हुन नसक्दा प्रदुषण न्यूनीकरण गर्न सरकार असफल भयो । हाल वातावरण विभाग काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना- २०७६ पुनरावलोकनको चरणमा छ भने प्रदुषण नै हुन नदिने गरी राष्ट्रियस्तरको कार्ययोजना पनि बनाउने तयारीमा छ ।

काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६ त छ । तर त्यसले देशभरको प्रदूषण न्यूनीकरण गर्न नसक्ने र प्रदूषण उच्च बिन्दूमा रहँदा विपद् नहोस् भन्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कार्ययोजना तयार पारेको हो । 

त्यसो त सरकारले वायु प्रदूषणलाई गम्भीरतापूर्वक लिएको देखिँदैन । अर्कोतर्फ वातावरण विभागले छुट्टै र प्राधिकरणले छुट्टै राष्ट्रिय कार्ययोजना बनाउँदा कामहरु दोहोरिने र प्रतिफल नआउने जोखिम त हुँदैन ?


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।