तनहुँ बस दुर्घटना अपडेट : घाइते दुई जनाको उपचारको क्रममा मृत्यु

मंसिर १३, २०८० |प्रताप राना
तनहुँ बस दुर्घटना अपडेट : घाइते दुई जनाको उपचारको क्रममा मृत्यु

तनहुँ । तनहुँको घाँसीकुवामा बस दुर्घटना हुँदा घाइते भएकामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । घाइते ३४ जना यात्रुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परी घाइते भएका धनकुटा सागुरीगढी गाउँपालिका- ९ बस्ने ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका अन्दाजी ५५ वर्षीय टोपबहादुर मगरको दमौलीमा उपाचारका क्रममा मृत्यु भएको हो । राईको रत्नहरि अस्पताल र मगरको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइते ३४ यात्रुको दमौली अस्पताल, रत्नहरि अस्पताल र पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

धरानबाट पोखरा आउँदै गरेको ग १ ख ७८९५ नम्बरको बस पृथ्वीराजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका - १२, घाँसीकुवामा आज बिहान पौने ६ बजेतिर अनियन्त्रित भई सडकबाट तल खसेर दुर्घटना भएको हो ।


Image

प्रताप राना

राना कान्तिपुर टीभीका तनहुँ संवाददाता हुन् ।