काठमाडौं । आजै मात्र सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । टिकटकबाट सामाजिक सम्बन्ध र सद्भाव बिथोलिने गरेको भन्दै तत्काललाई सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।
‘प्राविधिक रूपमा साथीहरू लाग्नु भएको छ । सम्भव भएसम्म आजैबाट पनि बन्द हुन सक्छ,’ मन्त्रिपरिषद्का निर्णय सुनाउँदै शर्माले भनिन् । त्यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र दूरसञ्चार प्राधिकरण तयारीमा गइसकेको मन्त्री शर्माको भनाइ छ ।
कुन-कुन देशमा प्रतिबन्ध ?
समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी) का अनुसार टिकटक चलाउन प्रतिबन्ध लगाउने देशहरूको सङ्ख्या बढ्दो छ । धेरै देशका सरकारहरू टिकटकको विषयमा सतर्क रहेको पनि एपीले जनाएको छ । नेपाल लगायत अफगानिस्तान, अस्ट्रेलिया, बेल्जियम, क्यानडा, डेनमार्क, युरोपियन युनियन, फ्रान्स, भारत, लाटभिया, नेदरल्याण्ड, न्यूजिल्याण्ड, नर्वे, पाकिस्तान, ताइवान अमेरिका र संयुक्त अधिराज्यले टिकटकको प्रयोगमाथि आंशिक वा पूर्ण रूपमा प्रतिबन्ध लगाएका छन् ।
अफगानिस्तानको तालिबान सरकारले आफ्ना जनतालाई ‘भ्रममा पर्न’बाट जोगाउन सन् २०२२ मा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।
अस्ट्रेलियाको सरकारले देशको गुप्तचर र सुरक्षा निकायबाट सल्लाह लिएर टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यस्तै बेल्जियमले आफ्नो साइबरसुरक्षा, गोपनीयता र मिथ्या सूचनाको चिन्ताका कारण सरकारी फोनमा टिकटकलाई प्रतिबन्ध लगाएको हो ।
अमेरिका, ईयूपछि बेल्जियमले सरकारी फोनबाट टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । भारतले पनि गोपनियता र सुरक्षाका कारण देखाउँदै टिकटक र वि-च्याट दर्जनौं चिनियाँ एपहरूमाथि राष्ट्रव्यापी प्रतिबन्ध लगाएको थियो । यस्तै अरू देशले पनि गलत सूचना, गोपनीयता र सुरक्षाको विषय देखाउँदै टिकटकमाथि आफ्ना देशभित्र प्रतिबन्ध लगाएका छन् ।
सम्बन्धित समाचार...