सल्यान । भूकम्प गएको दुई वर्षपछि बल्ल सल्यानमा निजी आवासको विस्तृत क्षति आकलन तथा घर क्षतिको विवरण संकलन सुरू गरिएको छ ।
सरकारले २०८० कात्तिक १७ गते गएको भूकम्पका कारण जाजरकोट र रूकुमलाई मात्र प्राथमिकतामा पारेको र सल्यानलाई चासो नदिएको कारण विस्तृत क्षति आंकलन तथा विवरण संकलन हुन ढिलाइ भएको पीडितको बुझाइ छ ।
सल्यानको दार्मा गाउँपालिका-२ लिरापावाका टेकबहादुर केसीको घर २०८० साल कार्तिक १७ गते गएको भूकम्पले बस्नै नमिल्ने गरी तहसनहस बनायो । त्यसयता उहाँको परिवारको बास अस्थायी टहरामा खुम्चिएको छ । दुई वर्षपछि बल्ल आवासको विस्तृत क्षति आकलन गर्न प्राविधिकको टोली घरमा पुगेपछि उहाँको मनमा राहतको आशा पलाएको छ । दुई बवर्षदेखि अस्थायी टहरामै बस्दै आउनुभएकी लिरापावाकै भद्री पाण्डे पनि आवासको विस्तृत क्षति संकलनपछि घर चाँडै बन्ने आशामा हुनुहुन्छ ।
भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि सल्यानका भूकम्प पीडितहरू अझै अस्थायी टहरामै दिन कटाउन बाध्य छन् भने १६ सयले अझै पहिलो किस्ता पाउन सकेका छैनन् । भूकम्प गएका जिल्ला जाजरकोट र रूकुम पश्चिमलाई मात्र प्राथमिकतामा पारेर भूकम्पपछि विपद क्षति मूल्याङक डि.डि.ए गरिएको थियो । राहत पाउन नसकेपछि चिन्तित भएका प्रभावित अहिले पूर्णनिर्माणका लागि विस्तृत क्षति आंकलन संकलन सुरू भएपछि दंग छन् ।
स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालय सल्यानको लामो प्रयासपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पालिकाका प्राविधिकलाई तालिम दिएपछि बल्ल विस्तृत क्षति आंकलन सुरू भएको हो । दार्मामा ४ हजार ८१ मध्य ७ सय घरधुरीमा क्षतिको विवरण संकलन सकिएको छ । अन्य पालिकामा पनि क्षतिको विवरण संकलन भैरहेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिकाअनुसार स्थानीय सरकारको लाभग्राही कायम गरेर विपद्मा दर्ता भएका अनुमानित ४ हजार ३ सय ७४ लाभग्राहीको क्षति विवरण संकलन हुने छ । विस्तृत क्षति आकलन तथा विवरण संकलनअन्तर्गत क्षतिको विवरण आवासको अवस्था, नयाँ निर्माण, मर्मतलगायत अन्य गरी पाँच भागमा वर्गीकरण गरिएको छ ।
एक महिनाभित्र क्षतिको विवरण संकलन गरिसक्ने प्रशासनले निर्देशन दिएको छ । 'प्राविधिक टोलीले सबै प्रभावितका घर-घरमा गएर मोबाइलबाटै विवरण संकलन गरिरहेका छन् । भूकम्पबाट सल्यानको दार्मामा ४ हजार ८१, कुमाखमा १ सय २९, त्रिवेणी गाउापालिका १२ र बागचौर नगरपालिकामा १ सय ५२ गरी ४ हजार ३ सय ७४ भौतिक संरचना क्षति पुगेका थिए ।