प्रतिनिधि सभा पुनर्स्थापना गराएरै छाड्ने ओलीको भनाइ

मंसिर २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधि सभा पुनर्स्थापना गराएरै छाड्ने ओलीको भनाइ

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकार गठन असंवैधानिक भएको भन्दै संसद् पुनर्स्थापना गरी लोकतन्त्रलाई फर्काएरै छाड्ने बताउनुभएको छ।

नेकपा (एमाले)को ११ ‍औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले सरकार गठन असंवैधानिक भएको भन्दै संसद् पुनर्स्थापना गरी लोकतन्त्रलाई फर्काएरै छाड्ने बताउनुभएको हाे।  अध्यक्ष ओलीले ६ महिनामा निर्वाचन गर्ने म्यान्डेट पाएको सरकारले निर्वाचन गराउने उद्देश्य नभएको भन्दै तत्काल संसद् पुनर्स्थापना हुनुपर्ने बताउनुभयाे । 

सरकारले सबै राजनीतिक दलको मन जितेर संवादमा ल्याउनुपर्नेमा निषेध गर्ने गरी अघि बढेको आरोप उहाँले लगाउनुभयो । सरकारले सुरक्षित वातावरणमा निर्वाचन गराओस् भन्ने आफूहरूको भनाइ भए पनि आन्दोलनका क्रममा लुटिएका हतियार र कैदीबन्दी पक्राउ नगरेको समेत उहाँले आरोप लगाउनुभयो । 

संसद् पुनर्स्थापना र संवैधानिक सरकार गठनका लागि सबै एक ठाउँमा उभिन पनि अध्यक्ष ओलीले आग्रह गर्नुभएको छ । अध्यक्ष ओलीले सरकार र जेन-जीबीच भएको सम्झौता अस्वीकार्य भएको दोहोर्यानुभयो । लोकतन्त्रलाई कमजोर बनाउने खेल भएको र चुनाव नगर्ने दिशामा सरकार लागेको आरोप पनि उहाँले लगाउनुभयो ।

अध्यक्ष ओलीले एमालेको भीडलाई कम नआँक्न समेत चुनौती दिनुभयो । उहाँले एमालेको महाधिवेशन मात्रै नभइ देश र लोकतन्त्रविरूद्ध भएको प्रतिगमनविरूद्ध जुध्ने आन्दोलन भएको समेत बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.