नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

कार्तिक २७, २०८० |कान्तिपुर टीभी संवाददाता
नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सामाजिक सद्भाव विथोल्ने गतिविधि भइरहेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्त रेखा शर्माले नेपालमा टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिइन् ।

टिकटकमा पछिल्लो समय सामाजिक सद्भाव बिथोलिने गतिविधिहरु बढ्दै गएपछि टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयमा सरकार पुगेको उनले बताइन् ।

मन्त्री शर्माले तत्काल टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिँदै कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ने बताइन् । उनले भनिन्, ‘टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ । डेडलाइन भने तोकिएको छैन ।’

टिकटकमार्फत लगातार सामाजिक सद्भाव बिथोल्न थालिएको भन्दै सरकार टिकटक बन्द गर्ने निर्णय गरिएको उनको भनाइ थियो ।

‘सामाजिक सञ्जाल टिकटकबाट लगातार रुपमा सामाजिक सद्भाव बिथोलिने गरेर र विभिन्न हाम्रो पारिवारिक संरचना, हाम्रो सामाजिक सम्बन्धलाई खलबल हुनेगरी लगातार प्रचारप्रसार भइरहेका छन् यस सन्दर्भमा अहिले तत्काललाई टिकटक बन्द गर्ने भन्ने निर्णय गरेको छ,’ शर्माले भनिन्, ‘यसका निम्ति हामीले निर्णय गरेर सञ्चार मन्त्रालयलाई निर्देशन गर्ने भन्ने निर्णय भएको छ । प्राविधिक रुपमा साथीहरु लागिरहनुभएको छ । प्राविधिक रुपमा यो आजैबाट पनि सम्भव हुनसक्छ । यसको लागि सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरण तयारीमा गइसक्नुभएको छ ।’

भारत, क्यानडा, अफगानिस्तान, ताइवान अस्ट्रेलिया, बेल्जियम, फ्रान्स, डेनमार्क र नेदरल्यान्ड्सलगायतका देशमा टिकटकमाथि प्रतिबन्ध लगाइएको छ ।

भूकम्पपीडितलाई तत्काल ५० हजार रुपैयाँ दिने सरकारको निर्णय


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.