म ढुक्कले भन्न सक्छु, एमाले अजम्बरी छ : अध्यक्ष ओली

मंसिर २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
म ढुक्कले भन्न सक्छु, एमाले अजम्बरी छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी अजम्बरी रहेको दाबी गर्नुभएको छ ।

शनिबार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित पार्टीको ११औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले मुलुकमा लोकतन्त्र अजय रहेको र एमाले अजम्बरी रहेको जिकिर गर्नुभएको हो । 

अध्यक्ष ओलीले जेन-जी आन्दोलनप्रति लक्षित गर्दै एमालेको सान्दर्भिकता सकियो भन्ने भाष्य खडा गर्नेहरूका सामु धुवाँ, खरानी र निषेधका प्रहारहरूलाई चिर्दै पार्टीको महाधिवेशनमा जनसागर उर्लिएकाले पनि एमाले अजम्बरी बनेको आफूले ढुक्कका साथ भन्नसक्ने अवस्था आएको बताउनु भयो । उहाँले उद्घाटन समारोहमा भएको उपस्थितिले आफूलाई गौरवान्वित बनाएको समेत बताउनु भयो । 

अध्यक्ष ओलीले भन्नुभयो, ‘तपाईंहरूको यो भव्य उपस्थिति देखेर म गौरवान्वित भएको छु । सम्झिरहेको छु–तीन महिना अघिका ती कहालीलाग्दा दिनहरू । जतिबेला देश युद्धभूमि जस्तै जलिरहेको थियो । जतिबेला संविधान, लोकतन्त्र, र यसका आधार स्तम्भ राजनीतिक दलहरूमाथि भीषण हमला गरिएको थियो । एउटा भाष्य निर्माण गर्ने कोशिस भइरहेको थियो । पुराना पार्टीहरू सकिए, पुराना नेताका दिनहरू गए । र, नेकपा एमालेका सान्दर्भिकता समाप्त भयो । यस्तो भाष्य खडा गर्न खोजिएको थियो । धुवाँ, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै जब आज यहाँ यो जनसागर उर्लिएको छ । म ढुक्कले भन्न सक्छु–लोकतन्त्र अजय छ । नेकपा एमाले अजम्बरी छ ।’

अध्यक्ष ओलीले संविधान, लोकतन्त्र र त्यसको स्तम्भको रूपमा रहेका राजनीतिक दलहरूमाथिको हमला स्वीकार्य नहुने समेत बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.