
काठमाडौं । हराउँदै गएको संस्कृतिलाई जोगाउन भक्तपुरको मध्यपुर नगदेशको न्हुच्छे दाफा भजन खलले शनिबार उपत्यकाको चार बाराही मन्दिरको पुजा तथा संकल्प भोजनको आयोजना गरेको छ ।
हराउँदै गएको संस्कृति र सम्पदालाई जीवन्तता दिन मध्यपुर बोडेको निलबाराहीबाट सुरू भई काठमाडौंको धुमबाराही, ललितपुरको श्वेत बाराही र ललितपुरकै बज्र-बाराही देवीको दर्शन र पुजागरी भोजन चढाइएको थियो ।
परम्परागत बाजागाजासहित नेवारी पहिरनमा सहभागी भक्तजनहरूले चारवटै बाराही देवीलाई आ-आफ्नो गच्छेअनुसार माछा-मासु फलफुल रोटी दक्षिणा गरी ८४ व्यञ्जन चढाइएको न्हुच्छे दाफा भजन खलका काजी नर्सिङ कौरीले जानकारी दिनुभयो ।
उपत्यकाको चार बाराहीको दर्शन र पुजा गरे देश र जनतामा सुख समृद्धि हुने धार्मिक विश्वास छ । करिब १० वर्षपछि चार बाराहीको दर्शन र पुजागरी संकल्प भोजनको आयोजना गरिएको हो । संकल्प भोजन पुजामा भक्तपुरका करिब दुई हजार नेवार समुदायको सहभागिता रहेको थियो । सहभागी सबैलाई भोजसमेत खुवाउने चलन छ ।


