महाधिवेशनकाे उद्घाटन समारोह र प्रतिनिधि मनोनयन एक पक्षीय देखिए ओली

मंसिर २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
महाधिवेशनकाे उद्घाटन समारोह र प्रतिनिधि मनोनयन एक पक्षीय देखिए ओली

काठमाडौं । महाधिवेशनको उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा मिलेर जाने बताए पनि महाधिवेशन उद्घाटन समारोह र प्रतिनिधि मनोनयन भने एक पक्षीय देखियो ।

अध्यक्ष ओलीविरूद्ध प्रतिस्पर्धाको घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले उद्घाटन सत्रमा कुनै भूमिका पाएन भने प्रतिनिधि मनोनयनमा पनि एकलौटी भएको आरोप पोखरेलको छ । महाधिवेशन उद्घाटन समारोह अध्यक्ष ओलीले आफ्नो पकडमा रह्यो । 

उद्घाटन सत्रमा ओलीले आन्तरिक लोकतन्त्रदेखि सहमतिको कुरा उठाए पनि व्यवहारमा भने उद्घाटन स्थल ओलीको कब्जामा देखिएको थियो । महासचिव शंकर पोखरेलले अध्यक्ष ओलीको तारिफ गर्दै स्वागत मन्तव्य राख्दा कार्यक्रम सञ्चालनको जिम्मा ओलीकै निकटका नेता उपमहासचिव प्रदीप ज्ञवालीलाई दिइएको थियो । 

वरिष्ठ उपाध्यक्ष पोखरेललाई उद्घाटनदेखि अन्त्य गर्दासम्म कुनै स्थान दिइएन । आफू निकटकै पोलिटब्यूरो सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज महेश बस्नेतमार्फत अध्यक्ष ओलीलाई मञ्चमा उभ्याएर मायाको चिनो लिने दिने चाँजोपाँजो मिलाइएको थियो।

त्यसो त हिजो झन्डै सात घन्टा बसेको एमाले सचिवालय बैठकले पाँच प्रतिशत प्रतिनिधि मनोनयनको नाम टुङ्गो लगाउन नसक्दा ओली र पोखरेललाई सहमति गर्ने जिम्मा दिइएको थियो । तर पोखरेलले सल्लाह विना एकलौटी ढंङ्गबाट १ सय ८ जना प्रतिनिधि छनोट गरेको आरोप लगाउनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.