पाटनमा देखाइयो ३ सय ८४ वर्ष पुरानो कात्तिक नाच

मंसिर १, २०८१ |नारायण किलम्बू
पाटनमा देखाइयो ३ सय ८४ वर्ष पुरानो कात्तिक नाच

ललितपुर । देश र जनताको कल्याणका लागि भन्दै ३ सय ८४ वर्षदेखि देखाइँदै आएको ललितपुरको लोक प्रसिद्ध कात्तिक नाच यो वर्षका लागि सम्पन्न भएको छ । ऐतिहासिक तथा तान्त्रिक महत्वको यो नाच पाटन डबलीमा १० दिनसम्म देखाइएको हो । 

फरक पहिचान बोकेको र अर्मूत सम्पदाको रुपमा रहेको यो नाचले धार्मिक सहिष्णुता कायम गर्दै सामाजिक विकृतिविरुद्धको चेतना फैलाउने विश्वास गरिँदै आएको छ ।

मल्लकालीन राजा सिद्धिनरसिंह मल्लको पालामा सुरु भएको कात्तिक नाच श्रीकृष्णको चरित्रबाट प्रारम्भ हुन्छ । कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म १० दिन हरेक साँझ फरक–फरक लीलामा आधारित नाच देखाइन्छ । 

नाचमा भक्त सुरदास प्याखँ, बाथ प्याखँ, महामुख, युद्धकला, कृष्ण युद्ध, देवी प्याखँ जलशयन देखाइने गरेको छ । बराह अवतार अर्थात् हिरण्य कश्यपुलाई नृसिंहले बध गरेको कथा देखाइने नाच कात्तिक नाचको मुख्य आकर्षण हो ।

पाटन डबलीमा १० दिनसम्म परम्परागत वाद्यवादन र नेवारी लोक गायनको तालमा कलाकारले आफ्नो नृत्य प्रस्तुत गर्छन् । तान्त्रिक नाचको अन्तिम दिन कृष्ण लीलामा आधारित वस्त्रहरण लीला देखाउने परम्परा छ । तन्त्रसिद्धिमा आधारित यो नाचमा नर्तक र कलाकार, वाद्यवादक, गायकलगायत एक सय जना प्रत्यक्ष संलग्न हुन्छन् ।

१० दिनसम्म देखाइने नाच सञ्चालन गर्न २२ लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ । मौलिक नाच र संस्कृतिलाई जीवन्तता दिन ललितपुर महानगरपालिकाले १ करोड रुपैयाँको अक्षयकोष नै स्थापना गरेको छ । साँस्कृतिक क्षेत्रमा छुट्टै पहिचान बोकेको यो नाचले अभिमान त्याग्न र समाजमा सकारात्मक सचेतना फैलाउन सन्देश दिने गरेको छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।