उत्पादन र उत्पादकत्व सोचेजति बढ्न नसक्दा उपभोक्ताको कपमा विदेशी कफी

मंसिर १, २०८१ |सुमन पन्थ
उत्पादन र उत्पादकत्व सोचेजति बढ्न नसक्दा उपभोक्ताको कपमा विदेशी कफी

काठमाडौं । नेपालीहरुमा कफी लोकप्रिय बन्दै गएको छ । अझ सहरी क्षेत्रमा त कफी कल्चर नै विकास भइसकेको छ । दुर्गममा पनि दैनिक कफी पिउनेहरु बढ्दै छन् । तर स्वदेशमै उत्पादनको प्रशस्त सम्भावना हुँदाहुँदै आयातित कफी मै भर पर्नुपर्ने बाध्यता छ । 'नेपालको कफी अर्गानिक अरविका, गुणस्तरीय उत्पादन वृद्धिमा हाम्रो प्रतिबद्धता' भन्ने नाराका साथ आज २० औं संस्करण राष्ट्रिय कफी दिवस मनाइए पनि उत्पादन र उत्पादकत्व भने अपेक्षाकृत बढाउन सकिएको छैन ।

नेपालमा समुद्री सतहदेखि ८०० मिटरमाथि हिउँ, तुसारो नपर्ने ४३ जिल्ला कफी खेतीका लागि उर्वर छन् । १२ लाख हेक्टरमा कफी खेतीको सम्भावना भएको अध्ययनले देखाएको छ । तर ४३ सय हेक्टरमा मात्र खेती भइरहेको छ । 

गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पर्वत, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोकलगायतका जिल्ला कफी उत्पादनका लागि उर्वर मानिन्छन् । तर पछिल्ला वर्षहरुमा युवा पलायन र कफीमा लाग्ने सेतो गवारो रोग नियन्त्रण गर्न नसक्दा किसान पलायन भइरहेका छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा वार्षिक ५ सय टन हाराहारीमा मात्र कफी उत्पादन भइरहेको छ । तर सहरमा कफी कल्चर बढेका कारण आन्तरिक माग नै २२ सय टनभन्दा धेरै छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा भारत, दक्षिण कोरिया, थाइल्यान्ड, इटालीलगायतका देशबाट ४१ करोड ९८ लाखको कफी आयात भएको छ । 

हुन त नेपालबाट पनि कफी निर्यात भइरहेकै छ । अघिल्लो आर्थिक वर्षमै अमेरिका युरोपसम्म १४ करोड ९२ लाख रुपैयाँको कफी निर्यात भएको देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादिन अर्गानिक अरविका कफीको उच्च माग छ । तर उत्पादन नै कम हुँदा पूर्ति गर्न सकिएको छैन । 

कफीको व्यावसायीक विकासका लागि ३० वर्ष अघि सरकारले कफी विकास बोर्ड नै स्थापना गरेको थियो । तर बोर्डले अपेक्षाकृत काम गर्न नसक्दा उसको भूमिकामाथि नै प्रश्न उठेको छ ।

नेपालमा एकातिर खेतीयोग्य जमिन बााझिने क्रम बढ्दो छ । अर्कोतर्फ युवाहरु रोजगारी नपाएर विदेशिन बाध्य छन् । राज्यले बेरोजगार युवालाई कफी खेतीतर्फ आकषिर्त गर्न सके रोजगारीका अवसर मात्र सिर्जना हुने छैनन्, कृषिजन्य वस्तुमा हुँदै आएको ब्यापार घाटासमेत कम गर्न सकिने छ ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।