बाकु । अजरबैजानको राजधानी बाकुमा जारी विश्व जलवायु सम्मेलन (कप-२९) स्थलमा नेपालसहितका नागरिक समाजका प्रतिनिधिहरूले विरोध प्रदर्शन गरेका छन् ।
जलवायु परिवर्तनले निम्त्याएको संकट मोचनका लागि हानी नोक्सीनीसम्बन्धी कोष परिचालन गर्ने निर्णयमा विकसित राष्ट्रहरु तयार नभएपछि सम्मेलनमा सहभागी जलवायु परिवर्तनको जोखिम देशका नागरिक समाजका प्रतिनिधिले विरोध प्रदर्शन गरेका हुन् ।
विकसित राष्ट्रहरूले जलवायु न्यायका विषयमा प्रतिवद्धताअनुसार काम गर्न नमानेपछि आजबाट नागरिक समाजका प्रतिनिधिहरुले विरोध गरेका छन् । अजरबैजान सरकारले सार्वजनिक स्थानमा नाराबाजी र प्रदर्शन गर्न निषेध गरेकाले नागरिक समाजका प्रतिनिधिहरुले सम्मेलन स्थलै मौन प्रदर्शन गरेका हुन् ।
बाकुमा रहेका जलवायु अभियान्ता, नागरिक समाज, पिछडिएको वर्ग, अपाङ्गता भएका व्यक्तिहरू साना किसान, आदिवासी समूह र विभिन्न देशका स्थानीय समुदायका प्रतिनिधिहरूले प्रदर्शनमा भाग लिएका थिए ।