सिप सिकाएर मात्र वैदेशिक रोजगारीमा पठाउने सरकारको नीति अलपत्र

८० प्रतिशत युवा सिपबिनै विदेशिँदा कमाइ पनि न्यून
स्वदेशमा समेत दक्ष जनशक्तिको अभाव
मंसिर १, २०८१ |सुमन पन्थ
सिप सिकाएर मात्र वैदेशिक रोजगारीमा पठाउने सरकारको नीति अलपत्र

काठमाडौं । सरकारले पञ्चवर्षीय योजनादेखि वार्षिक कार्यक्रमसम्ममा स्वदेशमा सिपयुक्त जनशक्ति विकास गर्न लक्ष्य लिएको छ । तर सिपयुक्त जनशक्ति उत्पादनको लक्ष्य पूरा हुन सकेको छैन । वैदेशिक रोजगारीमा ८० प्रतिशतभन्दा धेरै युवा अझै सिपबिनै गइरहेका छन् ।

नेपालबाट बर्सेनि ६ देखि ७ लाख युवा वैदेशिक रोजगारीमा जाने गरेका छन् । तर अधिकांश सिपविहीन छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेका विभिन्न अध्ययनले नै दुई प्रतिशत युवा मात्र सिप सिकेर विदेश जाने गरेको देखाएका छन् । २४ प्रतिशत अर्धदक्ष र ७४ प्रतिशत त अदक्ष जनशक्ति विदेश जाने गरेको छ । सिप सिकाएर मात्र वैदेशिक रोजगारीमा पठाउने सरकारको नीति अलपत्र छ । सिपबिनै गएका श्रमिकको आम्दानीसमेत कम हुन्छ ।

वैदेशिक रोजगारीमा जाने मात्र नभएर स्वदेशी बजारमा पनि दक्ष जनशक्तिको अभाव छ । जुत्ता उद्योगका कालीगढदेखि निर्माण क्षेत्रका प्लम्बरसम्मको अभाव रहेको व्यवसायीहरुले बताएका छन् । स्वदेशका दक्ष श्रमिकको माग भारतीय श्रमिकले पूर्ति गर्दै आएका छन् ।

भारतमा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने १० देशको सूचीमा नेपाल छ । यता श्रम मन्त्रालयले भने श्रम बजारको माग पूर्ति गर्न दाता तथा आन्तरिक स्रोतबाट बल्ल सातै प्रदेशका तालिम केन्द्रको क्षमता विकास तथा विस्तारमा लागेको जनाएको छ । घरेलु तथा विश्व बजारको मागअनुसारको तालिमका लागि पाठ्यक्रम पनि सँगै बनाउने काम चलिरहेको दाबी मन्त्रालयको छ ।

त्यसो त श्रमिकको सिप विकासका लागि भन्दै यो बीचमा तालिम नभएका पनि होइनन् । वैदेशिक रोजगार बोर्डको सचिवालय र श्रम मन्त्रालय मातहतकै सिप विकास तालिम केन्द्रले वार्षिक ३० हजार हाराहारीलाई तालिम दिएको बताउने गरेका छन् । तर त्यस्ता तालिमको उपादयता देखिएको छैन । वैदेशिक रोजगारीको परनिर्भरता कम गर्नका लागि पनि सिपयुक्त जनशक्ति उत्पादनका कार्यक्रमलाई उपलब्धिमूलक बनाउनुपर्ने खाँचो बढेको छ ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।